सिनेमा नगरीमा नायिकाहरु बिचको मित्रता, झगडाले सधैँ मिडियामा चर्चा पाइरहेको हुन्छ । यी मध्य पछिल्लो समय चर्चामा रहेको नाम हो नायिकाद्धय पूजा शर्मा र आँचल शर्मा । यी दुई नायिका अभिनित चलचित्र ‘म यस्तो गीत गाँउछु’ र ‘जोनी जेन्टलम्यान’ यसै वर्ष रिलिज भइसकेको छ । दुवै चलचित्रमा पूजा र आँचलको अपोजिटमा पल शाह छन् । नायिका आँचल शर्माले पलसँग पहिलो चलचित्र ‘नाइ न भन्नु ल ४’बाट रजतपटमा प्रवेश गरेकी थिइन् । दोस्रो चलचित्र ‘जोनी जेन्टलम्यान’मा पनि सँगै देखिएका पल र आँचलबिच प्रेमसम्बन्धको चर्चाले मिडियामा राम्रै स्थान पाएको थियो । तर यी दुवैले आफूहरू प्रेममा नरहेको बताउँदै आएका छन् ।
नायिकाद्धय पूजा शर्मा र अाँचल शर्मासँग गरिएकाे कुराकानी :-
यता नायिका पूजा शर्मा र पल शाहको जोडी बनेर चलचित्र ‘म यस्तो गीत गाँउछु’मा काम गरिसकेका छन्। चलचित्र प्रमोसन समयमा पल र पूजा प्रेममा रहेको समेत बताइएको थियो । तर, आफूहरू चलचित्रमा मात्र प्रेमी–प्रेमीका रहेको पल र पूजा बताउछन् । चलचित्र 'म यस्तो गीत गाउँछु' समयमा पूजा र आँचल बिच पल शाहको कारण सम्बन्ध बिग्रिएको समेत खबर बाहिरिएको थियो । यी दुई अभिनेत्री हाल सम्म एकअर्काको फेसबुकमा समेत साथी नरहेको बताउछन् । पहिलो पटक मिडियामा एकसाथ देखिएका पूजा र आँचलले आफुहरुको सम्बन्ध सुमधुर रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा पुगेका यी दुई नायिकाले एकसाथ अन्तवार्ता दिएका थिए । अन्तवार्ता दिने क्रममा नायक पलको कारण कहिले पनि सम्बन्ध नबिग्रिएको दुवै बताउछन् । पूजा भन्छिन् ‘हामी एउटै क्षेत्रमा छौ । सँगै काम गरेका छौँ, पल उसको (आँचल)को प्रेमी भएको भए सायद रिस, जलन हुन्थ्यो होला ।’यता आँचल थप्छिन् ‘पूजा मेरो सिनियर हुनुहुन्छन् । उहाँसँग कहिले मलाई जलन भएन । ’ अन्तवार्ता दिने क्रममा पूजाले आफूले निर्माण गर्ने चलचित्रमा तिन जना ( पल, आँचल, पूजा) हुन सक्ने सम्भावना समेत रहेको खुलाइन् ।