फिल्म परान को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै दशैंको कोसेलीका रूपमा प्रस्तुत गरिएको यो गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, र रिदम कँडेलको स्वर रहेको छ भने रचना रिमाल र सलिना विकले महिला स्वर दिएका छन्।
गीतमा रिदम कँडेलकै संगीत छ भने शब्द दीपक प्रसाद आचार्य र अनिस अधिकारीले लेखेका हुन्। विवाहको वातावरणमा छायांकन गरिएको भिडियोमा मुख्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठीलगायतले नृत्य प्रस्तुत गरेका छन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्।
‘सासले हैन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहित आउन लागेको यस फिल्मलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन्। ‘काकु’ नामले परिचित आचार्यको यो पहिलो निर्देशकीय फिल्म हो। फिल्म गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानीमा बनेको हो, जसका निर्माताहरू शेखर गोल्छा र रञ्जित आचार्य हुन्। उद्योग क्षेत्रमा सक्रिय शेखर गोल्छाले यसै फिल्ममार्फत निर्माणतर्फ डेब्यू गरेका हुन्।
फिल्ममा प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, दमन रुपाखेती, सुव्रतराज आचार्य, बाल कलाकार आर्यादीप आचार्यलगायतले पनि अभिनय गरेका छन्। शिवराम श्रेष्ठले छायांकन, मित्र डि गुरुङले सम्पादन तथा गगन थापा मगरले ब्याकग्राउन्ड स्कोरको जिम्मेवारी सम्हालेका छन्।