कात्तिक ६ गते प्रदर्शनमा आउन लागिरहेको फिल्म ‘सोल्टिनी’ को ट्रेलर सोमबार काठमाडौंमा सार्वजनिक गरिएको छ। निर्देशक अर्जुन सुवेदीको निर्देशनमा तयार यो फिल्मले अन्तर्जातीय प्रेममा पारिवारिक र सामाजिक अवरोध झल्काएको छ।
ट्रेलरमा प्रकाश सपूत र परीक्षा लिम्बू प्रेममा बाँधिएका जोडीको रूपमा देखिएका छन्। तर, उनीहरूको फरक जातीय पृष्ठभूमि प्रेमको बाटोमा ठूलो चुनौती बन्छ। परिवारले परीक्षालाई अर्को युवकसँग विवाह गर्न दबाब दिएपछि, उनी प्रेम र परिवारबीचको दोधारमा परेकी देखिन्छिन्।
फिल्मले प्रेम, समाज, र जातीय मूल्यबीचको टकरावलाई केन्द्रमा राखेको संकेत ट्रेलरले स्पष्ट रूपमा दिएको छ।
फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायत कलाकारको अभिनय समावेश छ।
‘प्लानेट थ्री’ ब्यानरअन्तर्गत बनेको यस फिल्मको कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्। कार्यकारी निर्माताको रूपमा धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ।
फिल्ममा रेजिना बिस्ट र संसार चौलागाईं निर्माताको रूपमा छन् भने सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, र प्रशान्त सिवाकोटी तथा हर्कुलस बस्नेतको संगीत रहेको छ।
‘सोल्टिनी’ले जातीय विभेदविरुद्ध सशक्त सन्देश दिने उद्देश्य बोकेको बताइएको छ।