एक्सन जनरामा बन्न लागेको चलचित्र द म्यान फ्रम काठमाण्डूको छायाङ्कन सुरु भएको छ । क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरबाट निर्माण गर्ने लागेको चलचित्रलाईहलिउड र बलिउड चलचित्र निर्देशन एवं निर्माणमा अनुभव बटुलेका पेमा धोन्डुपले निर्देशन गर्दैछन् । उनको यसअघि हलिउड चलचित्र ‘बि आर नो मंक्स’ रिलिज भएको थियो जसमा भारतीय अभिनेता गुल्सन ग्रोवर समेत थिए । यस पटक उनै गुल्सनलाई लिएर पेमा नेपाल आइपुगेका छन् । बलिउड ब्याडम्यानले चिनिने गुल्सन यस चलचित्रमा भिलेन भूमिकामा देखिने भएका हुन् । चलचित्र उनी अबु मियाँ नामक खलनायकको भूमिकामा हुनेछन् । हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल यस चलचित्रका मुख्य अभिनेताको रूपमा छन् । लस एन्जल्समा बसोबास गर्ने हिन्दु–मुस्लिम गैरआवसिय नेपालीको भूमिकामा देखिन लागेका जोसेको नाम चलचित्रमा फैसल मुस्तफा हुनेछ । त्यस्तै चलचित्रमा पाकिस्तानी अभिनेता हमिद शेख पनि मुख्य भूमिकामा देखिने भएका छन् । चलचित्रमा बलिउड र हलिउड कलाकारसँगै नेपाली कलाकारहरू निर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्मा मुख्य भूमिकामा देखिने भएका छन् । तीन करोड बजेट बताइएको सिनेमाको ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी हलिउड सहर लस एन्जल्समा हुने निर्माता उद्दिनले बताए । अहिले काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन भइरहेको छ । मुख्य भाषा अङ्ग्रेजी रहने गरी छायाङ्कन भएको चलचित्रलाई नेपालीमा स्वरांकन समेत गरिने भएको छ ।