नेपालको पहिलो **साइन्स फिक्शन फिल्म ‘एक्लो : वान’**ले आफ्नो पहिलो गीत ‘एक्लै बाँच्नु खुरु खुरु’ सार्वजनिक गर्दै प्रदर्शनको काउन्टडाउन सुरु गरेको छ। पुष १७ गते रिलिज मिति तय गरिएको यो फिल्मको गीतले नै दर्शकबीच फिल्मप्रति उत्सुकता बढाएको छ।
गीतमा मुख्य अभिनेत्री कविता नेपालीको आकर्षक नृत्यले ध्यान खिचेको छ भने साथमा देखिएका सागर रानाले भिडियोमा नयाँ ऊर्जा थपेका छन्। स्वप्निल शर्माको शब्द र रोहित शाक्यको संगीतमा तयार भएको यो गीतमा लोकगायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। गीतमा महिलाको अन्तरमन, भान्साको पीडा र एक्लोपनको भाव पोखिएको छ। यसको मूल सन्देश हो — “रुनु होइन, एक्लै पनि आत्मविश्वासका साथ बाँच्न सकिन्छ।”
प्रदीप शाहीद्वारा लिखित र निर्देशित ‘एक्लो : वान’मा कविता नेपाली, प्रदीप खड्का, विजय लामा, सुनिल थापा, बेनिशा हमाल, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, र बेलायती अभिनेता जेमी बेकनको दमदार अभिनय देख्न पाइनेछ।
फिल्ममा एनआरएन समूहको लगानी रहेको छ। अभिनेता प्रदीप खड्का स्वयं पनि निर्माता हुन् भने विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता हुन्। फिल्मको छायांकन बाबु श्रेष्ठले र सम्पादन रुपेश गुरुङले गरेका छन्।
गत मे महिनामा यो फिल्मलाई विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा विशेष स्टलमार्फत प्रचार गरिएको थियो, जसपछि ‘एक्लो : वान’ले अन्तर्राष्ट्रिय बजारमा पनि चासो कमाएको छ।
फिल्मले नेपाली चलचित्र उद्योगमा साइन्स फिक्शन शैलीको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ — जहाँ कल्पना, प्रविधि र भावनाको संगम एकै पर्दामा देख्न सकिनेछ।