चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ ।
फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौँ आसपासकै विभिन्न स्थानमा खिचिएको हो । चलचित्र ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ । चलचित्रमा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । १० वर्षपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सङ्गीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।
निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।