वैशाख १८ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लालीबजार' को तेस्रो गीत ‘मै राम्री छु त नी' को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनि षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । गीतमा प्रकाश सपूतको शब्द र सङ्गीत रहेको छ ।
सार्वजनिक गीतमा चलचित्रकी मुख्यपात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन् । गीतमा नारी सुन्दरताको बयान गरिएको छ । गीतको केन्द्रमा स्वस्तिमा छिन् । गीतलाई टिकटक, फेसबुक रील्स, युट्युब शटसमा प्रयोग गर्न थालिएको छ ।
गीतको फुल भर्सन भने चलचित्रसँगै आगामी वैशाख १८ देखि थियटरमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ । यस्तै, गत वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली चलचित्र ‘लालीबजार’ को ट्रेलरलाई दर्शकलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रसंशा गरिरहेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को ट्रेलर सार्वजनिक भएदेखि नै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो ।