दुई सफल चलचित्र ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ निर्देशन गरेकी अभिनेत्री दीपाश्री निरौलाले पहिलो पटक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यसँग जोडी बनेर काम गरिरहेकी छिन्  । चलचित्र ‘शत्रु गते’मा हरिवंशको प्रेमिकाको रूपमा दिपाश्रीलाई देख्न पाइने छ । हालै सामाजिक सञ्जालमा दिपाश्रीले हरिवंशलाई छाता ओढाएको तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्बिरमा हरिवंश ट्याक्टर चलाइरहेको अवस्थामा देखिन्थे ।

 

स्किृनमा हरिवंश र दिपाश्रीको जोडी सुहाएको छ । यति बेला काठमाडौँको विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र ‘शत्रु गते’लाई प्रदिप भट्टराईले निर्देशन गर्दै छन् । यसअघि उनले ‘जात्रा’ निर्देशन गरेका थिए । चलचित्रमा हरिवंशको जोडी दिपाश्री जस्तै दिपकराज गिरीको प्रियंका कार्की, पल शाहको आँचल शर्मा जोडीको रूपमा रहेको बताइएको छ । मह सञ्चारको प्रस्तुति रहेको चलचित्रलाई कलाकार किरण केसीले निर्माण गरेका हुन् । चलचित्र आउदो चैत्र ९बाट प्रदर्शनमा आउँदै छ ।