नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेका अनमोल केसी एक मात्र यस्तो भाग्यमानी अभिनेता हुन् जसले आफ्नो पहिलो चलचित्र प्रदर्शन हुनु अगावै एक किसिमको उचाइ प्राप्त गरी सकेका थिए । बाबु 'भुबन केसी'ले निर्माण गरेको चलचित्र “साथी म तिम्रो” मा अतिथि भूमिका निर्वाह गरेका उनको नायकको रूपमा हेमराज बिसी निर्देशित “होस्टेल” पहिलो चलचित्र थियो । तर आकर्षक अनुहार र “स्टार किड” अर्थात् सुपरस्टार बाबुको छोरा हुनुको नाताले “होस्टेल” प्रदर्शन हुनु अगावै अनमोल धेरै युवतीको प्रिय बनी सकेका थिए । “होस्टेल” सफल भएसँगै उनको चर्चा थप चुलियो र प्रशंशकहरु पनि सोही अनुपातमा वृद्धि भए । हेमराज बिसीकै निर्देशनमा दोस्रो चलचित्र “जेरी”मा पनि अनमोलले नायकको भूमिका निभाए । अनमोलको क्रेज त्यति बेला थप प्रस्ट भयोे जतिबेला “जेरी” हेर्न दर्शक ओइरिए र चलचित्र एकाएक हिट बन्यो । अनमोलकै कारण कमजोर कथा र प्रस्तुती शैलीमा बनेको “जेरी” हेर्न बिशेष गरी यूवापुस्ताका दर्शक हलसम्म तानिएका थिए । “होस्टेल” र “जेरी” सफल भई सकेपछी जुन अनुपातमा अनमोलको प्रशंशक बढे उनलाई आलोचना गर्नेहरुको जमात पनि उत्तिकै भेटियो । स्थिति यस्तो बन्यो कि प्राय महिला दर्शक अनमोलको प्रशंशक भए भने अधिकांश पुरुष दर्शकहरूले उनको आलोचना गरे । बिशेषगरी उनको अभिनय कौशललाई लिएर धैरैले प्रश्न उठाए भने केहीले सुपर स्टार भुबन केसीको छोरा भएकै कारण चलचित्र क्षेत्रमा उचाइ पाएको टिप्पणी गरे । कतिले त सामाजिक सञ्जालमा ट्रोल बनाएर उनको मजाक उडाए । अनमोल प्रतिको कटाक्ष स्वभाबिक थियो अथवा नेपाली समाजको उदेक लाग्दो खुट्टा तान्ने संस्कारको तितो यथार्थ ? पछि कुनै लेखमा यस बारे विशेष बहस गरौला । “होस्टेल” र “जेरी” पश्चात् अनमोलको थप दुई चलचित्र “ड्रिम्स” र “गाजलु” प्रदर्शनमा आए । बाबु भुबन केसीले निर्देशकको रूपमा डेब्यु गरेको “ड्रिम्स” र निर्देशक हेमराज बिसीसँगको तेस्रो सहकार्य “गाजलु” पनि हिट भएपछि वर्तमान नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा ठुलो कमर्सियल भ्यालु भएको स्टारको रूपमा अनमोल अगाडी आए । करिब दुई वर्षको बिश्राम पछि उनको पाँचौ चलचित्रको “कृ” आँउदै छ । सुरेन्द्र पौडेल निर्देशित “कृ” को ट्रेलर र एउटा गीत सार्वजनिक भएसँगै फेरि एक पटक अनमलको चर्चा चुलिएको छ । ट्रेलरमा चलचित्रका लागी अनमोलले गरेको मिहेनत प्रस्ट देख्न सकिन्छ । सुगठित शरीर र फरक लुक्समा देखिएका उनले अभिनय र द्धवन्दमा पनि निकै मिहेनत र सुधार गरेको देख्न सकिन्छ । माघ २६ मा प्रदर्शन हुने चलचित्रको ट्रेलरले उत्कृष्ट प्रतिक्रिया र चर्चा पाएसँगै सार्वजनिक गरिएको “यति यति पानी” बोलको गितमा पनि अनमोलको तारिफयोग्य काम देख्न पाइन्छ । ट्रेलरमा शानदार एक्सन अबतारमा देखिएका अनमोल नृत्यमा समेत अब्बल देखिएका छन् । चलचित्र “कृ” को लागीनै भनेर अनमोलले लामो समय विशेष तयारी गरेका थिए । त्यसको स्पष्ट प्रतिफल ट्रेलर र गीतमा देख्न सकिन्छ । नेपाली चलचित्र क्षेत्रमा कुनै पनि कलाकारले कुनै विशेष चलचित्र र भुमिकाकोलागी भनेर यति लामो समय विशेष तयारी गरेको कमै देख्न र सुन्न पाइन्छ । हुन त अनमोलले जुन वातावरण र अवसर पाएका छन् सबै कलाकारले त्यस्तो अवस्था नपाएका पनि हुन सक्छन् । तर यसो भन्दैमा उनको मिहेनत, लगनशिलता र प्रतिबद्धतालाई नजरअन्दाज भने गर्न सकिँदैन । अभिनय कौशलका साथै आकर्षक शारीरिक बनावट र अनुहार तथा एक्सन र नृत्यमा अब्बल कमर्सियल अभिनेताको अभाव नेपाली चलचित्र क्षेत्रमा सदैव रही आएको अवस्थामा अनमोल केसी उदाइ रहेका छन् । उनको आगामी फिल्मी करियर कसरी अगाडी बढ्ला अहिले नै यसै भन्न सकिने अवस्था छैन । तर जुन स्तरमा अनमोलले दिन प्रतिदिन आफूमा सुधार गरी रहेका छन् त्यसले उनी कुनै छोटो रेसको खरायो नभई लामो रेसको घोडा हुन भन्ने स्पष्ट सङ्केत गरी रहेको छ ।