चलचित्र नगरीमा चर्चित जोडीको रूपमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की नाम अगाडी आउँछ । यी दुईले एकसाथ ‘झोले’, ‘फन्को’, ‘हाउ फन्नि’, ‘पुरानो ढुङगा’ लगायतका धेरै चलचित्रमा एकसाथ काम गरिसकेका छन् । प्राय दयाहाङले अभिनय गरेका चलचित्रमा प्रियंका नछुट्ने कारणले पनि यो जोडीका बारेमा बेलाबखत विभिन्न खाले टिकाटिप्पणी हुँदै आएको छ । कति सम्म भने यी दुई प्रेम रहेको भन्ने जमात पनि चलचित्र क्षेत्रमा ठुलै भेटिन्छ । तर यी दुवैले यो कुरालाई स्वीकार गरेका छैन । प्रियंका हाल नायक आयुष्मान देशराजको प्रेममा छिन् ।

पछिल्लो समय सिने नगरीका यी दुई कलाकारको सम्बन्ध चिसिएको समेत कुरा हुन थालेको छ । तर दया र प्रियंका दुवैले यस कुरालाई स्वीकार गर्दैनन् । आइतबार राजधानीका भएको एक विशेष कार्यक्रममा प्रियंकाले समय व्यस्ततको कारण दयाहाङलाई भेट्न पाएकि थिइनन् । यता दयाहाङ पनि व्यस्तताको कारण देखाउँछन् । रोचक कुरा त के छ भने आउँदो पुस २८ गते अभिनेता दयाहाङ र अभिनेत्री प्रियंका बिचको लडाई हुने भन्ने पक्का हुने भएको छ । सो दिन यी दुई कलाकारद्वारा छुट्टाछुट्टै अभिनित दुई चलचित्र ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ रिलिज हुँदै छ । अझ रमाइलो ‘मिस्टर झोले’ चलचित्र ‘झोले’को सिक्वेल हो । ‘झोले’मा दया र प्रियंकाले पहिलो पटक एकसाथ काम गरेका थिए । व्यावसायिक रूपमा सफल भएको यो चलचित्रले दुवै कलाकारको करियरमा इँटा थपिदिने काम गरेको थियो । तर यस पटक ‘मिस्टर झोले'मा भने प्रियंका अटाइनन् । चलचित्र मिस्टर झोलेलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने यसमा दयाहाङको साथमा दिया पुन, वर्षा राउत, बुद्धि तामाङ, विजय बरालको मुख्य भूमिका रहेको छ । यता प्रियंका अभिनित चलचित्र ‘बटरफ्लाई’लाई ओम प्रतीक गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंकाको साथमा आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ ।

एक समयका सुपर हिट यी दुई जोडि कलाकार दयाहाङ र प्रियंकाको चलचित्रले हलसम्म दर्शक तान्न सक्ला की नसक्ला त्यो भने आउँदो शुक्रवारबाट थाहा हुने छ ।