पछिल्लो समय नेपाली बक्सअफिसमा हलिउड चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा ‘जुमान्जी ः वेलकम टु द जङ्गल’ उत्साहजनक समीक्षा र राम्रो अकुपेन्सीसहित चौंथो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले नेपाली मल्टिप्लेक्सबाट १ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको बताइएको छ । सोही कारण यो चलचित्रले आइतबार काठमाडौँमा विशेष प्रदर्शन गरेको थियो । वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको सोमा माइती नेपालका बालबालिका र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । जेक कस्डन निर्देशित चलचित्रलाई क्रिटिक्सले रुचाएका छन् । जुमानी फ्रेन्चाइजको यो दोस्रो सिक्वेलमा भिडियो गमेमार्फत भर्चुअल संसारमा छिरेका चार हाइस्कुल विद्यार्थीले वास्तविक संसारमा फर्कन गरेको सङ्घर्षलाई चित्रण गरिएको छ । ‘चलचित्रको राम्रोसँग प्रदर्शन भइरहेको छ र करोड कमाउन पनि सफल छ’ कम्पनी वितरण प्रमुख जेनिस पहारीले भनिन्, ‘हलिउड चलचित्र पछिल्लो समय प्रभावशाली बन्न थालेको उदाहरण हो यो ।’ एप्पलले करोड कमाउने चलचित्रलाई विशेष सोसहित कतिपयको प्रिमियर समेत आयोजना गर्ने गरेको छ । सन् २०१८ मा मेज रनर ः द डेथ क्योर, पिटर ¥याबिट, अल्फा, रेड स्पारो, टम्ब रेइडर, डेडपुल २, होटल ट्रान्सिलभेनिया ३, भेनम, न्यु म्युचन्टस लगायतका चलचित्रलाई एप्पलले नेपाल रिलिज गर्दैछ । कम्पनीले हलिउडका मुख्य स्टुडियोहरू फक्स, सोनी पिक्चर्स, वार्नर ब्रोज, युनिभर्सल एवं बलिउडका पीभीआर र तानवीर स्टुडियोका चलचित्र वितरण गर्दै आइरहेको छ ।