नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ रिलिजको सँघारमा आइसकेको छ । यही चलचित्रको लागी करिब २ वर्ष मेहनत गरेका अनमोल जति रिलिज डेट नजिक आयो उतिनै उत्साहित र डर लागेको बताउँछन् । ‘कृ’मा अनमोलसँग नव–अभिनेत्री अदिति बुढाथोकीले डेब्यु गर्दै छिन् । चलचित्रको छायाङ्कन सुरु हुनु अगावै अदितिको चर्चाको सुरु भएको थियो । बलिउडमा आफूलाई चिनाउन संर्घष गरिरहेकी अदितिले कृबाट नेपाली चलचित्रमा आफ्नो नयाँ परिचय बन्नेमा आशावादी छिन् । ‘मेहनत गरेको छु । दर्शकको माया पाउने ठुलो आस छ ।’ उनी भन्छिन् । ‘कृ’को ट्रेलर र एउटा गीत सार्वजनिक भइसकेको छ । जसमा अनमोललाई फरक रूपमा देखाइएको छ । ‘करिब दुई वर्ष मैले मेहनत गरेको छु । मेरो दर्शकको लागी केही नयाँ पस्किने प्रयास गरेको छु । ट्रेलर र गीतले पाएको प्रतिक्रियाले खुसी बनाएको छ । ’ सिनेपाटीसँग कुरा गर्दै अनमोलले बताए ।

सार्वजनिक भएको ‘यति यति पानी’को लागी अनमोलले ६ महिना डान्स क्लास लिएका थिए । उनी भन्छन् ‘मलाई नाच्न आउँदैन । जुन अघिल्लो चलचित्रहरूमा देख्नु भयो । नराम्रा कमेन्टहरू पढ्थे र दिमागमा राख्ने गरेको छु । मलाई नराम्रो कमेन्टले अझ काम गर्ने ऊर्जा दिने गर्छ । बुवा (भुवन केसी)ले ‘बाँदरले सिके त नाच्न सक्छ त मान्छे हो’ भनेर डान्स सिक्न थाले ।’ उनी खुसी हुँदै सुनाउँछन् ‘आज मैले गरेको मेहनतलाई मन पराइदिनु भएको छ ।’ अनमोलको कृ पाचौँ चलचित्र हो । यस अघिका चलचित्रमा अनमोलले नयाँ अभिनेत्रीहरू सँग काम गरेका छन् । जोसँग काम गरेका छन् प्रायसँग अनमोलको नाम जोडिने गर्दछ । उनी भन्छन् ‘सायद दर्शकको माया हो । हामीलाई चलचित्रमा मन पराइदिनु भएको कारण नै रियलमा पनि साँचीकै प्रेममा रहेको सोच्नु हुन्छ । ’ पछिल्लो समय मिडियामा अदिति र अनमोलको प्रेमचर्चा  हुने गरेको छ । उनीहरू दुवै आफूहरू राम्रो मित्र भएको बताउँछन् । ‘ममा अदितिलाई चाहने प्रेमीको गुण छैन जस्तो लाग्छ ।’ अनमोल भन्छन् । यता अदिति ‘भविष्यमा जे पनि हुन सक्ने बताउँछिन् । ’