बलिउड कलाकारहरू विवाद र ओलझेलमा परेको चर्चा निरन्तर सुन्नामा आइरहेको नै हुन्छ । यति बेला बलिउडका निर्देशक, निर्माता तथा कलाकार समेत रहेका करण जोहर जेल पर्न सक्ने खबरले बलिउड मिडिया तातेको छ । करण हाल एक रियालिटि सोमा जजको रूपमा व्यस्त छन् । तर उनी कानुनी मामिलामा मुसिएका छन् । खासमा उनले एक पान मसलाको विज्ञापन गरेका थिए । उक्त विज्ञापन करण निर्णायक भएको रियालिटि सोको बिचमा देखाइएको थियो । सुर्तिजन्य पदार्थले मानिसको जीवनमा नकारात्मक असर पर्ने भन्दै दिल्ली स्वास्थ्य विभागले आपत्ति जनाएको छ । सोही कारण उनलाई कानुनी सूचना पठाएको भारतीय मिडियाले जनाएको छ । कानुनी सूचना अनुसार उक्त विज्ञापन देखाउन नपाउने कुरा उल्लेख गरिएको छ । त्यसो नगरेको खण्डमा करणलाई ५ वर्ष सम्मको जेल सजाय समेत हुने भारतीय मिडियाले जनाएको छ । स्वास्थ्य विभागले सूचना पठाएको यो करणको दोस्रो पटक हो । पान मसलाको विज्ञापन देखाएको कारण करण साथै उनका सहयोगी धर्म प्रोडक्शन र विज्ञापन कम्पनीलाई पनि कारबाही हुन सक्ने भारतीय मिडिया बताउँछ ।