लामो समयसम्म रंगमञ्चमा काम गरेर चलचित्रमा आएका अभिनेता हुन् -साैगात मल्ल । चलचित्र लुटमा 'हाकु काल'ले दिएको परिचयबाट अझै पनि सौगात चर्चित छन् । कागबेनी हुँदै लालपुर्जासम्म हेर्ने हो भने सौगातले आफू भर्सटाइल कलाकार हो भनेर पुष्टि गरिसकेका छन् ।

चलचित्र क्षेत्रमा लागेको करिब १० वर्ष बितिसक्दा सौगात अभिनित थोरै चलचित्रले मात्र सफलताको स्वाद चाख्ने मौका पाएको छ । यति बेला उनी नयाँ चलचित्र 'पञ्चेबाजा'को प्रमोसनमा व्यस्त छन् । पञ्चेबाजा यही फागुन ११ गतेबाट प्रदर्शन हुँदै छ ।

केही दिन अघि काठमाडौँमा पञ्चेबाजा टिमसँग पत्रकार भेटघाट कार्यक्रममा राखिएको थियो । सोहीक्रममा सौगातलाई धेरैले एउटै प्रश्न गरे, किन धेरै चलचित्रमा काम गर्नु हुन्छ ? उनी भन्छन् 'म अझै सिक्ने क्रममा छु । २ वर्ष भयो मैले धेरै चलचित्रमा काम गर्न थालेको । मेरो सघर्षको क्रममा धेरै साथीभाईहरु छन् जसले आज मलाई यहाँ सम्म पुर्‍याएका छन् । अहिले उही साथीभाइ चलचित्र अफर गर्दा नाई भन्न सक्दिन । तर अब मलाई उदाहरण दिने चिज मिलेको छ । जति पनि फ्लप भएका सिनेमा छन् मैले साथीहरूलाई देखाउन सक्छु, हतार नगरौँ भन्दै ।'

 त्यही क्रममा साैगातलाई पत्रकाले तपाईँ हिट हिरो की फ्लप हिरो ? प्रश्न गर्दा एक छिन त उनी अक्क र बक्क भए । अनि सौगात हाँस्दै भन्छन् 'काम पाइरहेको छु । काम गरिरहेको छु । यो कुरा म भन्न सक्दिन।' पञ्चेबाजामा सौगातले रङ्गकर्मीको भूमिका प्रस्तुत गरेका छन् । 'कलाकारिताकाे मेरो सुरुवाती दिनमा जसरी सङ्घर्ष गरिरहेको थिए । यो चलचित्रमा पनि मैले त्यही भूमिका प्रस्तुत गरेको छु । चलचित्र बिल्कुलै फरक छ जस्तो मलाई लाग्छ ।' उनी भन्छन् ।