नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यही शुक्रवारबाट रिलिज हुदैँछन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको दोस्रो रोमान्टिक गीत सार्वजनिक गरियो । स्कटल्याण्डमा छायाङ्कन गरिएको उक्त गीतमा अनमोल र नायिका अदिति बुढाथोकीको अभिनय रहेको छ ।
चलचित्र ‘कृ’को खासै प्रमोसन गरिएको छैन । एकप्रकारको स्टारडम बनाएका अनमोलको कारण दर्शक हलसम्म आउनेमा निर्माण पक्ष ढुक्क देखिन्छ । नेपाली चलचित्र क्षेत्रको इतिहासमा हेर्ने हो भने हालसम्म चलचित्र ‘छक्का पञ्जा’ सर्वाधिक कमाउने चलचित्रको रूपमा रहेको छ । यो रेकर्ड ‘छक्का पञ्जा २’ले पनि तोड्न सकेन ।
पछिल्लो समय अनमोलको बढ्दो क्रेजले गर्दा सिने नगरीमा ‘छक्का पञ्जा’को रेकर्डलाई ‘कृ’ले तोड्नेमा धेरै अनुमान लगाउने गरेका छन् । सोमबार पत्रकारसँग अन्तक्रियाको क्रममा अनमोललाई ‘छक्का पञ्जा’को रेकर्ड तोड्न कति को दबाब छ ? भनेर सोधिएको थियो । अनमोल भन्छन् ‘मलाई नेपाली चलचित्रसँग प्रतिस्प्रधा गर्नु छैन । म यही क्षेत्रमा जन्मिए र हुर्किए । म भन्दा अगाडी उहाँहरू (छक्का–पञ्जा) टिम आउनु भएको हो । मेरो भन्दा धेरै उहाँहरूको फ्यान हुनुहुन्छ । म सम्मान गर्छु सधैँ, त्यसैले दबाबको महसुस गर्दिन । ’