चलचित्र ‘लोफर’बाट राम्रै सम्भावना बोकेर सिनेमा नगरीमा प्रवेश गरेकी नायिका हुन् रजनी केसी । तर लोफरबाट रजनीले सोचेको जस्तो सफलता पाउन सकिन्न । लोफर अपेक्षा गरिएको जति सफल नभएपछि छवि क्यापबाट रजनी आउट भएकी छिन् ।अभिनेत्री रेखा थापासँग डिभोर्स भएको केही समय नबित्दै निर्माता छवि राज ओझाले रजनीलाई डेव्यु गराएका थिए ।  सन् २०१५ मा केसी अभिनित ‘परदेशी’ रिलिज भयो । यो चलचित्र रजनीको करियरको पहिलो हिट चलचित्र  बन्यो । परदेशी पछिका रजनी अभिनित ‘ब्रासलेट’, ‘लालजोडी’ कुनै चलचित्र सफल हुन सकेनन् । केही दिन अघिमात्र उनी अभिनित ‘पटुकी’ रिलिज भएको थियो ।बिना प्रचार प्रसार रिलिज गरिएको चलचित्रले पानी पनि भन्न पाएन । हलमा पटुकी फ्लप भएपछि रिलिज भएको एक साता नबित्दै युट्युबमा अपलोड भइसकेको छ । लगातार फ्लप चलचित्र दिँदै आएकी रजनी पछिल्लो समय सिरियल मार्फत भने हिट भइरहेकी छिन् । उनी एपी वान टेलिभिजनबाट प्रसारण हुने ‘१० टु ५’ मा काम गरिरहेकी छिन् ।