बलिउड अभिनेता सलमान खान अब जेठमा नेपाल आउने भएका छन् । हिजो शनिवार जोधपुर कोर्टले धरौटीमा रिहा गरेसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको हो । आयोजक संस्था ओडिसीले एक पत्र सार्वजनिक गर्दै सलमान जेठ १२ गते नेपाल आउने औपचारिक घोषणा गरेका हो । उक्त पत्र ओडिसीले आफ्नो औपचारिक फेसबुक पेजमा राखेकोका छ ।

अब जेठ १२ मा सलमान आउने पक्का 

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउने पत्रमा उल्लेख छ । यस अघि सलमान फागुन २६ गते नेपाल आउने तय गरिएको थियो । तर उक्त समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएको भन्दै कार्यक्रम वैशाखको पहिलो साता हुने बताएको थियो । यता बिहीबार सलमानलाई दुई कालो हरिण सिकारको मुद्धामा जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।  सलमान जेल परेसँगै अन्योलमा परेको नेपाल टुर अब जेठमा हुने पक्का पक्की भएको बताइएको छ । बुझिएअनुसार आयोजकले ‘दबंग द टूर नेपाल’ का लागि टिकट बिक्री फेरि सुरु गरेको छ ।