अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’का निर्माताहरू बिच यति बेला लफडा सुरु भएको छ । गत चैत्र ३० गतेबाट रिलिज भएको चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई मिलन स्वयंमले निर्देशन गरेका हुन् । चलचित्र प्रदर्शनको क्रममा नै निर्माताहरू बिच मनमुटाव भएको समाचार बाहिरिएको थियो । तर यो विषयले यतिमै सेलाएको थियो । बरु प्रदर्शन पछि निर्देशक तथा निर्माता रहेका मिलन चाम्सले  चलचित्रका नायक  प्रदिप खड्कालाई विभिन्न आरोप लगाएका थिए । उनले प्रदीपको बारेमा मिडियामा आएर गुनासो पोखेको थिए । तर प्रतिउत्तरमा प्रदिपले केही जवाफ दिएनन् । यति बेला भने चलचित्रका यी तीन निर्माताहरू बिच सेयर बाँडफाँडमा विवाद भएको समाचार बाहिरिएको छ ।

निर्माताद्धय मिलन चाम्स र सुदिप खड्का सेयरको विषयलाई लिएर गोेविन्द शाहीको नाममा  चलचित्र निर्माता सङ्घ र चलचित्र सङ्घमा उजुरी दिइसकेको खबर बाहिरिएको छ । यस विषयमा गोविन्द शाहीसँग हामीले बुझेका थियौ । उनी भन्छन् ‘हलबाट चलचित्र उत्रिएको छैन । गुण, गोपी लगायतका केही हलमा अझै चलचित्र लागिरहेको छ । हलले पूर्ण रूपमा हिसाब नदिएको कारण सेयर बाँडफाँडको काम अहिले भएको छैन । तर यस्तो कुरालाई उहाँहरूले किन रमिता गरेको ? ’ गोविन्द थप्छन् ‘चलचित्रमा मिलनले २५ लाख, सुदिपले करिब ३० लाखको लगानी गरेको छ । मेरो १ करोड ५ लाख लगानी भएको छ । बिचमा चलचित्र छोड्ने भनेर हात झिक्न खोज्ने तर अहिले सेयर बाँडफाँडको कुरा अगाडी ल्याउने? प्रतिप्रश्न गर्दै गोविन्द भन्छन् ‘गोविन्द शाहीले पैसा खाएर भाग्छ ? बाहिरीको राइट बेचेर मलाई पैसा देखेको छैन । म काठमाडौँको वितरक हो तर अहिले वितरक होइन भन्न मिल्छ ?’ 

 विषयमा मिलन चाम्ससँग बुझ्न खोज्दा उनी लन्डनमा रहेको बताए । आत्तरिक कुरा भएको कारण नराम्रो केही नभएको उनी बताउँछन् ‘यो हामी बिचको कुरा हो । के कुरा कसरी भइरहेको छ मलाई जानकार छैन । तर हामी आफै मिलाउने प्रयत्न गरिरहेका छौ ।