पछिल्लो समय सिनेनगरीमा धेरै चलचित्र खेल्ने अभिनेताको रूपमा दयाहाङ्ग राईको नाम अगाडी आउँछ । गत बर्षमात्र उनी अभिनीत करिब आधा दर्जन बढी चलचित्रहरू प्रदर्शनमा आए । जसमध्ये केही चलचित्रमात्र सफल भए । दया अभिनीत केही चलचित्रले हलमा पानीसमेत भन्न पाएन ।

यो वर्षको सुरुवातसँगै दया अभिनीत 'ह्याप्पी डेज्' प्रदर्शनमा आयो तर चलचित्रलाई लिएर न दयालाई मतलब भयो न त दर्शकले वास्ता गरे । जति चलचित्र फ्लप भए पनि दयाहाङ्गको व्यस्ततामा भने केही कमी आएको छैन । छोटो समयमा दयाले करिब तीन दर्जन चलचित्रमा काम गरिसकेका छन् । सोमबार काठमाडौँमा आयोजित 'भैरे'को ट्रेलर सार्वजनिक कार्यक्रममा दयाहाङ्ग उपस्थित थिए । चलचित्रको कार्यक्रममा खासै नपुग्ने दयालाई उनको लगातार फ्लप भइरहेको चलचित्र सम्बन्धी प्रश्न गरिएको थियो । तर आफूले गरेको चलचित्रनै थाहा नभएपछि एकछिन् उनी अक्कमक्क परे । कार्यक्रममा बोल्दै दयाले एकै पटक धेरै चलचित्र रिलिज हुँदा दुख लागेको समेत बताएका थिए । 'चलचित्र साइन गर्दा प्रदर्शन मिति एउटा भनिएको हुन्छ । त्यही अनुसार मैले समय मिलाएर चलचित्र गर्छु । तर रिलिज हुँदा सबै एकसाथ आइदिन्छ । जसले गर्दा एकै पटक सबै काम गरेको जस्तो देखिन्छ । 'उनी भन्छन् । अब आफ्नो पुरानो चलचित्र रिलिज भएपछि मात्र नयाँ चलचित्रको थालनी गर्ने दया बताउँछन् । 'अब केही समय कुरेर नै चलचित्र गर्छु ।'  उनी भन्छन् ।