चलचित्र ‘नाई न भन्नु ल ४’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् आँचल शर्मा । उनको गत वर्ष दुई चलचित्र ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ प्रदर्शनमा आए ।  जोनी जेन्टलम्यानले अपेक्षा अनुरूप कमाई गर्न नसके पनि शत्रु गतेले भने बक्स अफिसमा हंगामा मच्चाएको थियो । तर जम्बो कलाकार टोलीको भिडमा परेकी आँचल जस भने पाइनन् । आँचल चलचित्र भन्दा बढी नायक पल शाहसँगको प्रेमचर्चाले भने मिडियामा छाइरहेकी हुन्छिन् । चलचित्र शत्रु गते पश्चात् आँचल कुनै नयाँ प्रोजेक्टमा अनुवन्धन भएको समाचार बाहिरिएको छैन ।

उनले शत्रु गतेअघि नै नायक आकाश श्रेष्ठसँग जोडी बाँधेर ब्ल्याक चलचित्र गरेकी थिइन् । बिहीबार यसै चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेकी आँचललाई पत्रकारले ‘चलचित्र नगरेको कि नपाएको?’ भनेर प्रश्न गरेका थिए ।आँचलले पत्रकारको प्रश्नमा जवाफ दिँदै भन्छिन् ‘शत्रु गते चलचित्रले मलाई एउटा परिचय दियो । तर मैले अझै सोलो हिरोइन् भएर आफूलाई चिनाउने मौका पाएको छैन । शत्रु गतेमा धेरै कलाकार भएको कारण आफूलाई जस पाउन गाह्रो हुन्छ । सोही कारण राम्रो कथाको प्रतीक्षामा छु । विशेषतः सोलो नायिका बनेर काम गर्ने लोभ जागेको छ ’