अभिनेत्री प्रियंका कार्कीले बुधबार आयोजित फिल्म दाल भात तरकारीको पत्रकार सम्मेलनमा आफूले राम्रो काम गर्न सकेको खण्डमा एउटा सिनेमा भित्र ५ मिनेट भूमिका नै भएपनि दर्शकले नोटिस गर्ने बताइन् । अभिनेत्री बर्षा राउतको भनाई पनि यस्तै थियो ।
जम्बो टोली, हुलमुल टिमसँग काम गर्दा घाटा लाग्छ भनेर सोच्ने कलाकार पनि छन् । जस्तो, अभिनेत्री आँचल शर्मा । उनले त खुलेरै शत्रु गतेमा काम गर्दा घाटा लागेको बताएकी थिइन् ।
तर, सोलो हिरोइन भएर पनि आँचललाई त्यस्तो फाइदा कहाँ भएको छ र ? सोलो हिरोइन भएर २ घन्टाभर पर्दामा देखिदा भने उनले जोनी जेन्टलम्यानबाट दर्शकलाई रिझाउन नसकेको तितो यथार्थ हो ।
चलचित्र ‘वडा नम्बर ६’ देखि ‘छक्का पञ्जा ३’ र ‘नाई न भन्नु ल २’ देखि नाई न भन्नु ल ५ सम्म आइपुग्दा पनि प्रियंका हुलमुलको चलचित्रमा रमाइरहेकी छिन् । भलै यसबिचमा प्रियंका अभिनित सोलो चलचित्रहरु प्रदर्शनमा नआएका होइनन् । तर प्रियंकाको करियरलाई माथि लैजानका लागि हुलमुलकै फिल्मले काम गरेका छन् । सोलो भूमिकाको सुन्तली, बटरफ्लाइले पानी नमागेको प्रियंकालाई पनि थाहा छ । त्यस्तै म्युजिक भिडियोबाट जमेकी नायिका बर्षा राउतले पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’ गरिन् । त्यससँगै बर्षा छक्का पञ्जामा अनुबन्धित भइन् । दर्जन बढि चिनेका कलाकारहरु बिच बर्षाको छोटो भूमिका भएता पनि धेरैले उनलाई याद गरे । छक्का पञ्जाबाट बर्षाले दर्शकमाझ आफुलाई परिचित पार्न अझू सफल भइन् । छक्का पञ्जासँगै उनले ‘जात्रा’, छक्का पञ्जा २, ‘मिस्टर झोले’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । यी सबै फिल्ममा जम्बो कलाकार छन् ।
यही भएर होला उनले भलै गीतमा मात्र सही, छक्का पन्जा ३ को पहिलो नम्बरमा गीतमा पनि नाच्न इन्कार गरिनन् । ठूला ब्यानर, धेरै कलाकार भएको फिल्ममा काम गरेर हिट भएका बर्षा र प्रियंकाका लागि आँचलको कुरा हजम नहुन सक्छ ।
नेपालमा कलाकारकै कारणले मात्र सिनेमा चल्ने अवस्था कम छ । अझ हिरोइनहरुको हकमा त यो अझै लागू हुन सकेको छैन । यसैले पनि फिल्म क्षेत्रमा आफूलाई अगाडि बढाउन र दर्शकमा नोटिस हुन धेरै कलाकार, आशातित सिनेमामा आँखा लगाउनु नराम्रो कुरा होइन ।
सोलो हिरोइन पाएर घरमै थन्किएका कलाकारको संख्या हुलमुलमा काम गरेर व्यस्त बनेका हिरोइनको भन्दा नेपालमा धेरै छ । अभिनय गर्न सक्नेका लागि हरेक फिल्म कमजोर लाग्दैनन् । तर, आफ्नो कमजोरी ढाक्नका लागि सोलो हिरो वा हिरोइन मात्र हुन्छु भन्नु नाच्न नजान्ने आँगन टेडो भनेजस्तै हो ।
कि त आफ्नो स्टारडमले हलमा दर्शकको भीड लगाउन सक्नुप¥यो, कि आशा गरिएका ठूलो टिमसँग काम गरेर भएपनि आफ्नो करिअरलाई अगाडि बढाउनुप¥यो । बर्षा र प्रियंकाले दोश्रो नम्बरको आइडियामा काम गरिरहेका छन् ।