बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ सय करोडमा प्रवेश गरेको छ । यही १९ अक्टोबरबाट प्रदर्शनमा आएको चलचित्रले तेस्रो साता सम्म आइपुग्दा सय करोडको कमाई गरेको हो । ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीट अनुसार चलचित्रले सय करोडको आँकडा तेस्रो हप्तामा पार गरेको हो । चलचित्रले तेस्रो साताको शुक्रवार २.३५ र शनिवार ३.५० करोड  कलेक्सन गरेको छ । यसअघि आयुष्मान अभिनीत ‘अन्धाधुन्ध’ले पनि बक्स अफिसमा राम्रो कमाई गरेको थियो । बधाई होलाई अमित शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा उमेर पुगिसकेकी आमा गर्भवती भएपछि त्यसले परिवार भित्र ल्याउने द्धन्द्धलाई रमाइलो ढङ्गले देखाइएको छ । चलचित्रमा आयुष्मानसँगै सान्या मल्होत्रा, गजराज राव, निना गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयले निकै प्रशंसा पाइरहेको छ ।