करिब दुई वर्ष अघि नेपाली चलचित्र क्षेत्रमा छुट्टै माहोल बनाएको सफल चलचित्र 'छक्का पन्जा २' ले बैशाख १३ गतेको रि-रिलिज डेट तोकेको छ । एक त युट्युबमा सार्वजनिक नगरिएको चलचित्र 'छक्का पन्जा २'लाई दर्शकले पुन : साथ दिनेछन् भन्ने आशाका साथ निर्माण टिम प्रचारप्रसारमा व्यस्त पनि भयो तर यस पटक भएन बाजी अर्कैले मार्ने भएको छ । हलिउडको प्रतिक्षीत चलचित्र ‘एभेन्जर्स –इन्ड गेम’ को प्रदर्शनको मारमा परिने डरले कुनै ठूला र आश गरिएका नेपाली फिल्म रिलिज नहुने भएपछि दीपकराज गिरीको टिमले दर्शकको अत्याधिक माग रहेको बताउँदै बैशाख १३ लाई चलचित्र ‘छक्का पञ्जा २’ को रि-रिलिजको डेट तोकेको थियो । यस अघि नै चलचित्र 'दाल भात तरकारी'ले भने आफ्नो रिलिज डेट पर सारिसकेको थियो ।
 

हलिउडको ठुलो फिल्मसँग जुध्ने निर्णय पर्यो ‘छक्का पन्जा २’लाई भारी

रि-रिलिजको धङ्धङी बोकेर हिँडेको छक्का पन्जा २ को टिम यतिबेला अक्क न बक्क बन्ने स्थितिमा आइपुगेको छ । मल्टीप्लेक्स हलहरुले मोटो रकम लिएर प्रोमो बजाइरहेका छन् तर ती कसैले पनि चलचित्रलाई लाई सोज दिएका छैनन् ।राम्रो शेयर हात पर्ने राजधानीका ठूला मल्टीप्लेक्सहरुले एक सोज पनि नदिँदा प्रचार प्रसारमा खर्च गरेको भएको १० लाख पनि उठाउन कति पापड बेल्नु पर्ने हो त्यो हेर्न बाँकी छ ।
क्यूएफएक्स सिनेमाज्ले राजधानीमा रहेको आफ्ना ५ वटा हलमा यो चलचित्रलाई एक सोज पनि दिएको छैन । मोफसलका ३ स्टेशनमा भने एकएक सोज प्रदान गरेको छ । राजधानीमा रहेका विग मुभिज, क्यूज सिनेमाज्, वीरएसआर, एफक्यूब, सिडिसी कुनै मल्टीप्लेक्सले चलचित्रलाई सोज दिएका छैनन् । हलिउडको ठूलो फिल्मसँग जुध्ने निर्णय लिएपछि धेरैले दिपक राज गिरिको साहसको प्रशंसा गरेका थिए, युट्युबमा रिलिज नगर्नु अर्को उदाहरणिय काम भनेका थिए तर यतिबेला उनि आफैँले गरेको साहस उनलाई नै भारी परिरहेको छ ।