सलमान खान र कटरीना कैफको प्रमुख भूमिका रहेको बलिउड चलचित्र ‘भारत’ शुक्रबार मात्रै नेपालमा प्रदर्शनमा ल्याउने चर्चा थियो । यसअघि चलचित्र ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो । इद उल फितरको अवसरमा बुधबारबाट विश्व भर प्रदर्शनमा आउन लागेको 'भारत'का  नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णयविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा रिट दायर गरेको थियो । जिल्ला अदालत काठमाण्डौंले ‘भारत’लाई नेपालमा बुधबार नै रिलिज गर्न चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश जारी गरेको छ । कुनै पनि व्यवसायलाई हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । अदालतको आदेशपछि अब बुधबार नै भारत नेपालमा रिलिज हुने भएको छ ।