जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानले फेरी पनि एकपटक आफुलाई सुपर स्टारको रुपमा प्रमाणित गर्न सफल भएका छन् । बुधवारदेखी रिलिज भएको उनि स्टारर चलचित्र 'भारत'ले बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ हात पार्न सफल भयो । यसअघि २०१९ मा यो रेकर्ड चलचित्र ‘कलंक’ ले पहिलो दिन २१.६० करोड कमाएर राखेको थियो तथापी 'कलंक' फ्लप चलचित्रको सुचिमा सुचिकृत हुनु पर्यो । इदको विदाको अवसर पारेर रिलिज भएको यस चलचित्रलाई लकले पनि साथ दिएको हुनुपर्छ । यस अघि २०१६ को इदमा रिलिज भएको ‘सुल्तान’ले ३६.५४ करोड कमाएको थियो । त्यस्तै सलमानको करिअरकै सर्वाधिक ठुलो ओपनर 'भारत' बनेको छ ।
अलि अब्बास जफर निर्देशित चलचित्रले भारत–पाकिस्तान विभाजनको क्रममा बुवा र बहिनी हराएका एक पात्रको मानसिक र भौतिक यात्राको कथा पेश गर्छ । जसमा सलमानले मुख्य पात्रको बागडोर सम्हालेका छन् । उनका साथमा चलचित्रमा कट्रिना कैफ, तबु, दिशा पटानी, सुनिल ग्रोवर, ज्याकी श्रोफ लगायतका कलाकारको पनि अभिनय छ ।