‘गुलाबो सिताबो’को छायाङ्कनमा व्यस्त बलिउडका महानायक अमिताभ बच्चनको फरक अनि जोकोहिलाई सजिलै चिन्न गाह्रो पर्ने अवतार सार्वजनिक भएको छ । बुढ्यौलीले छप्पक छोपेको अनुहार, लामो र सेतो दाह्री, आँखामा गोलो चस्मा, गलबन्दी ओढेको, टाउकोमा तकिया लगाएको एक वृद्ध । यो स्वरूपको तस्बिर चलचित्र ‘गुलाबो सिताबो’को निर्माण पक्षले सार्वजनिक गरेको हो । सुजित सरकारले निर्देशन गरिरहेको चलचित्रमा पहिलो पटक आयुष्मान खुरानाले अमिताभ बच्चनसँग काम गर्दै छन् । केही समय अगाडि अन्तरवार्तामा अमिताभले ‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुति लिएर आउनेछु’ भनेका थिए । अमिताभले आफूलाई यस स्वरूपमा ढाल्न हदसम्मको मिहिनेत गरेको देखिन्छ । उनको यो लुक्स इन्टरनेटमा सार्वजनिक भएसँगै बलिउड मिडिया तथा सोसल मिडियामा निकै चर्चा भइरहेको छ । उनको यस अवतारले चलचित्र प्रति निकै कौतुहलता बढेको छ ।