नेपाली मूलका बलिउडका ख्याति प्राप्त गायक उदित नारायण झाका सुपुत्र गायक, अभिनेता आदित्य नारायण झा कन्सर्टका लागि नेपाल आउने खबरले उनका फ्यानहरू माझ निकै उत्सुकता बढेको छ । केही वर्ष अघि पोखरामा कन्सर्टका लागि आएका आदित्य यो पटक काठमाडौँमा कन्सर्टका लागी आउन लागेका हुन् । जुलाईको ६ तारिख अर्थात् आउँदो असार २१ गते आदित्यले राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिने पक्का भैसकेको छ । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा उनले बलिउडसँगै नेपाली हिट गीत प्रस्तुत गर्नेछन् । आदित्यले नेपाललाई सम्बोधन गर्दै भिडियो सार्वजनिक गरेर जुलाई ६ मा आउने जानकारी दिएका हुन् । बलिउडमा गायनसँगै अभिनय र होस्टको रूपमा स्थापित भएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रूपमा डेब्यु गरिसकेका छन् ।