गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो भन्दा फरक पर्दैन । नयाँ चलचित्रको घोषणा, चलचित्र सम्बन्धी बिभिद कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली राजातपटको यो हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को शुक्रवार अफिसियल ट्रेलर सार्वजनिक गरियो । ट्रेलर एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो जहाँ चलचित्रका अधिकांश कलाकार उपस्थित थिए । कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा सञ्चिता लुइँटेल, शिवहरि पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।
सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र 'राजा साहेब'को निर्माण घोषणा भयो । केही वर्ष गुमनाम भएका अभिनेता रमित ढुङ्गाना यसै चलचित्रबाट ब्याक भएका छन् । चलचित्रमा रमित मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।
अभिनेत्री रिमा विश्वकर्मा र गायक आर्जन पाण्डे फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । फरक शैलीको गीत 'घाँटी भन्दा तल'मा आर्जनको स्वर रहेको छ ।गीत मात्र नभएर गीतको भिडियो पनि रोचक र फरक शैलीको रहेको छ जसमा गायक पाण्डे भिडियो गेम खेल्दा खेल्दै उक्त भर्चुअल दुनियाँमा प्रवेश गर्छन् र त्यहाँ विकसित भएका घटना क्रमलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
चलचित्र 'प्रेम गीत ३' को यति बेला प्री प्रोडक्सनको काम भइरहेको छ । कलाकारको छनौट र चलचित्र युनिटको तयारी पछि चलचित्र 'प्रेम गीत ३' मेकिङमा जुटेको हो । यति बेला चलचित्रको लागी फ्लाईन्ङ हर्स इन्स्टिट्युटमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, कृष्टिन गुरुङ, मनिष राउत, सन्तोष सेन लगायतले हर्स राइडिङको कोर्स गरिरहेका छन् ।
टङ्क बुढाथोकी र मेलिना राईको गीत 'कसरी कसरी' भाग दुई सार्वजनिक हुने तयारीमा छ । गीतको भिडियोको यति बेला सुटिङ भइरहेको छ । एक वर्षअघि सार्वजनिक भएको गीत 'कसरी कसरी'को सफलतापछि यो गीत ल्याउन लागिएको हो ।
भारतीय रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स'मा राम्रो स्थान हासिल गर्न सफल नेपालका आयुष र प्रीतम यति बेला आफ्ना प्रस्तुति दिन र कार्यक्रममा सहभागी हुनमा नै व्यस्त छन् । गएको हप्ता यी दुईलाई सहभागी गराएर राजधानीमा एक कार्यक्रम आयोजना गरिएको थियो जसमा दुवैले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
शुक्रवारबाट चलचित्र ‘सुपर गोर्खे रिलिज भएको छ । ‘नाइँ नभन्नू ल’ बाट चर्चामा आएकी अभिनेत्री ऋचासिंह ठकुरीको कम ब्याक चलचित्र हो । उनकै श्रीमान् राज थापा (गजेन्द्र) ले निर्माण र निर्देशन गरेको चलचित्रमा सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र बबी कि नायिका कविता गुरुङ नेपाल आएकी थिइन् । सत्य प्रेम कथामा आधारित यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने चलचित्र गत वर्ष रिलिज भएको थियो ।