यशराज ब्यानरमा निर्माण भएको ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र 'वार'को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा ऋतिक र टाइगरबिचको युद्ध देखाइएको छ भने नायिका बाणी कपुरलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ । पहिलो पटक एउटै चलचित्रमा काम गरेका ॠतिक र टाइगरको एक्सन अवतार र चलचित्रको सस्पेन्स र एक्सनले दर्शकमाझ निकै कौतुहलता जन्माएको छ । अक्टोबर २ बाट प्रदर्शनमा आउने यस चलचित्रलाई  सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा ऋतिकलाई गुरु र टाइगरलाई शिष्यको रूपमा देखाइएको छ । तर, गुरु(ऋतिक)ले गद्धारी गरेपछि गुरुसँगै नै भिडन्त गर्न पुगेका टाइगर बिचको युद्ध नै चलचित्रको मूल कथा हो भन्ने बुझ्न सकिन्छ । चलचित्रलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । चलचित्रमा आदित्य र सिद्धार्थकै कथा छ ।