रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' असोज ३ अर्थात् आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार राजधानीको जय नेपाल हलमा चलचित्रको ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । आयोजित प्रिमियरमा सिनेकर्मी र पत्रकारको घुइँचो लागेको थियो भने चलचित्र हेरेपछि सबैले तारिफ गरे । पछिल्लो समयका चर्चामा आइरहेका कलाकार अधिकांशको उपस्थितिमा सम्पन्न भएको प्रिमियरमा अर्ग्यानिक फिल्म निर्देशकको रूपमा चिनिएका रामबाबुले चलचित्रको लागी गरेको मेहनतको सबैले खुलेर प्रशंसा गरे । लामो समयपछि चर्चित चलचित्र कबड्डीको तेस्रो भाग लिएर आएको चलचित्रको मेकिङको प्रशंसा गर्न कसैले कन्जुस्याइँ गरेनन् ।
पहिलेका सिरिजका कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, विजय बराल, बुद्दि तामाङलगायत उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राईलगायतका मुख्य कलाकारलाई चलचित्रमा इन्ट्री गराइएको छ । मङ्गलवार नै अग्रिम बुकिङ खोलेको चलचित्रले क्युएफएक्समा सर्वाधिक सोज पाएको छ भने बिहीबार बेलुकासम्म मल्टीप्लेक्सका सिट ६० देखि ८० प्रतिशतको बिचमा भरिएका छन् ।
पहिलो दिनमा नै डेढ करोडसम्मको व्यापार गर्ने अनुमान गरिएको यस चलचित्रले जेठदेखि सुस्ताएको चलचित्रको व्यापारलाई माथि उठाउने आशा गरिएको छ । स्वजातिय र अन्तरजातीय प्रेमकथामा आधारित फिल्म पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पनि अभिनय छ ।