चलचित्र ‘दरबार’को ट्रेलर सार्वजनिक भएको छ । साउथ सुपरस्टार रजनीकान्त अभिनीत ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा रजनीकान्त लाई पुलिसको भूमिकामा देख्न सकिन्छ भने अभिनेता सुनिल सेट्टीलाई पनि फरक भूमिकामा देख्न सकिन्छ । चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । यस चलचित्रलाई ए आर मुरुगदासले लेखन तथा निर्देशन गरेका हुन् । २०२०को जनवरी १० मा रिलिज हुने ‘दरबार’ चार भिन्न भिन्न भाषामा प्रदर्शन गरिने छ । नयाँ वर्षको सुरुवातमा रजनीकान्तको ‘दरबार’ सँगै अन्य दुई प्रतीक्षित चलचित्रको रोचक भिडन्त हुने भएको छ । जनवरी १० मा यसअघि नै बलिउडका दुई चलचित्र ‘छपाक र तन्हाजी’ भिड्ने पक्का भैसकेको छ । नायक अजय देवगण र सैफअली खानको ‘तन्हाजी’ ऐतिहासिक कथामा बनेको चलचित्र हो । यस्तै, नायिका दीपिका पादुकोणको ‘छपाक’ एसिड आक्रमणमा परेकी एक युवतीको कथामा बनेको चलचित्र हो ।