तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने कुरा पक्का भैसकेको छ । चलचित्रलाई युवा फिल्म्स् ले निर्माण गर्ने भएको छ । ‘युवा फिल्मस्’ले चलचित्रको निर्माणको घोषणा गरेसँगै चलचित्र सम्बन्धी अनेक चर्चा चल्न थालेका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले सम्झौता गरिसकेका छन् । चलचित्र सम्बन्धी विभिन्न समाचारहरू आइरहेका बेला चलचित्रमा नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने खबर पनि बाहिरिइरहेको छ । चलचित्रमा आफ्नो नाम मुसिएपछी आर्यनले यस विषयमा बोलेका छन् । उनले, 'मैले केही दिनदेखि समाचारहरू देखिरहेको छु जसमा निर्माणाधीन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म भएको भनिएको छ तर यो स्पष्टीकरणको लागि मात्र हो मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु' भनेका छन् ।

चलचित्रका कास्ट एन्ड क्रु छिट्टै सार्वजनिक गर्ने तयारी युवा फिल्म्स् ले गरेको छ । ओरिजिनल भर्सन र हिन्दी रिमेक दुवैले सफलता पाएका चलचित्रको नेपाली रिमेक हुनु निकै खुसीको कुरा हो । यसरी नेपाली चलचित्रलाई विश्व माझ पुर्‍याउने एक अवसर पनि हो । युवा फिल्म्सले यस अघि नेपाली चलचित्र कबड्डी , पुरानो डुङ्गा लगायत चलचित्र युएसएमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र 'सफर' निर्माण भएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो चलचित्र हो ।