गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
अभिनेत्री आँचल शर्मा यही फागुन २९ गते विवाह बन्धनमा बाँधिँदै छिन् । उनले फागुन २५ गते सङ्गीत, २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् । आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकारलगायतलाई विवाह, सङ्गीत र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड दिइरहेकी छन् ।
चलचित्र ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । अभिनेता खगेन्द्र लामिछानेले डेब्यु निर्देशन यस चलचित्र आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण कम्पनी टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले रिलिज मिति घोषणा गरेका हुन् । स्थापित लेखक र कलाकार खगेन्द्र लामिछानेले पन्ध्र वर्ष अगाडी सफल नाटक 'पानीफोटो' निर्देशन गरेका थिए ।
'कृ' निर्देशक सुरेन्द्र पौडेल नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ । नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ । ‘बेन्जो’ नाम राखिएको चलचित्र चैत पहिलो हप्ताबाट फ्लोरमा जाने बताइएको छ । बुझिए अनुसार चलचित्रमा अदिति बुढाथोकी र नयाँ पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने छ ।
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यस अघि फागुन ३० गते प्रदर्शनमा आउने भनिएको चलचित्र अब चैत ७ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् । धादिङ रुबी भ्यालीको एउटा परिवारमा भूकम्पको बेलाको मानवीय सङ्घर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताएका छन् ।
धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । सुखद ओपनिङ्ग गरेको चलचित्र दोस्रो सातामा प्रवेश गर्दा पनि निकै उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ । यसै बिच चलचित्र निर्माण पक्षले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी शनिवारसम्मको व्यापार आँकडा सार्वजनिक गरेको छ । वितरक गोविन्द शाही र प्रस्तुत कर्ता तथा कलाकार सिताराम कट्टेलले कलेक्सन सार्वजनिक गरेका हुन् । वितरक शाहीका अनुसार, चलचित्रले देशभरबाट दोस्रो साताको शनिवारसम्म ४ करोड ८ लाख कलेक्सन गरेको ग्रस कलेक्सन गरेको छ ।
चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनको इन्ट्री भएको छ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राईसँग उनको जोडी बाँधिएको हो । फागुन २८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको यसै चलचित्रबाट उगेनले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दै छिन् ।
फागुन ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा चलचित्र 'म यस्तो गीत गाउँछु २' अन्योल मा परेको छ । प्रदर्शनको लागी चलचित्र निर्माण पक्षले निकै जोडतोडले तयारी गरिरहेको बेला तोकिएको मितिमा चलचित्र प्रदर्शनमा नआउने भएको छ ।
‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । उनी तीन दिनको कार्य तालिका मिलाएर नेपाल आएकी थिइन् ।
निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । यही चैत्र २८ अर्थात् नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर शुक्रवार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरले चलचित्र थ्रिलर र सस्पेन्स युक्त भएको प्रस्ट पार्छ । टिजरमा चलचित्रका मुख्य कलाकार सबैलाई स्थान दिइएको छ भने अभिनेता अर्पण थापाको नेगेटिभ भूमिका निकै रोचक हुने अनुमान लगाउन मद्दत गर्छ ।
चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित मानिएको चलचित्रको सार्वजनिक टिजर १ मिनेट ४५ सेकेन्डको रहेको छ । जसमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ । टिजर सार्वजनिक भएसँगै अभिनेता द्वय शिव श्रेष्ठ र प्रदीप खड्कासँगै नव-अभिनेता मनिष राउतको भूमिकाबारे अनुमान लगाउन सहज भएको छ ।
यही चैत ७ लाई नयाँ प्रदर्शन मिति तोकेको चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । फुलमान बलको डेब्यु निर्देशन रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा बिदेसिनुको बाध्यता र भूकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडालाई देखाइएको छ ।
पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ लन्डनमा प्रदर्शन गरिएको छ । पुनम इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई लन्डनका दर्शकले रुचाएका छन् । लन्डनका दुई सहर अल्डरसट र बाल्चिनमा चलचित्रको दुई सो राखिएको थियो दुवै शोमा दर्शकको उत्साहजनक साथ रहेको निर्मात्री पुनम गौतमले बताएकी छिन् ।
अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो । विवाह भएको केही दिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पिडा कस्तो हुँदो हो त्यो श्वेतालाई जति कसलाई थाहा होला । श्रीकृष्ण को मात्र होइन स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । यसरी क्यान्सरले परिवारबाट एक पछि अर्को खुसी खोसिदिँदा श्वेतालाई निकै ठुलो आघात पर्यो । त्यस यथा उनी सामाजिक काममा आफूलाई निकै व्यस्त राखिरहेकी छिन् । यसै बिच आफूलाई जस्तो पिडा अरूलाई पनि नपरोस् र कसैले उपचार नपाएर संसार छोड्नु नपरोस् भन्ने सोच बनाएर श्वेता क्यान्सर हस्पिटल निर्माणमा जुटेकी छिन् ।
चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा रेखा र सविनको एक्सन देख्न सकिन्छ । निर्माणको लामो समय पछि रिलिजको तयारीमा जुटेको चलचित्रमा रेखा र सविनका साथमा दिल श्रेष्ठ, सुलेमान शङ्कर, सरोज खनाल लगायतको अभिनय रहेको छ ।