अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र 'ए मेरो हजुर ४' यति बेला छायाङ्कनमा छ । पोखरा आसपासका विभिन्न स्थानमा चलचित्रको टिमले छायाङ्कन गरिरहेको छ । चलचित्र युनिटले सुटिङ स्थल मा नै होली मनाएका छन् । रङहरूको पर्व होलीमा चलचित्रका मुख्य कलाकार लगायत टिमले खुसीका साथ रङ साटासाट गरेर होली मनाएका हुन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छायाङ्कनमा गएका चलचित्रलाई छायाङ्कन रोक्न र जान तयार चलचित्रलाई स्थगित गर्न आग्रह गरिएको थियो । यद्यपि त्यति जोखिम नभएको र छायाङ्कनको काम सावधानी पूर्वक गर्ने निर्णयका साथ ए मेरो हजुर ४ टिमले छायाङ्कन जारी राखेको छ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र आगामी दसैँमा प्रदर्शनमा ल्याउने भनिएको छ । दसैँको फूलपातीलाई प्रदर्शन मिति लक गरिएको छ भने दीपक दीपाको ‘छक्का पन्जा ४’ले पनि यही मिति ताकेको छ ।