गएको हप्ता नेपाली रजतपट केही सुनसान रह्यो । यदाकदा भएका सामान्य कार्यक्रम बाहेक नयाँ चलचित्र प्रदर्शन, निर्माण घोषणा लगायत केही कार्यक्रम भएनन् । कोरोना भाइरसको सङ्क्रमणको त्रासले विश्व लाई नै हैरान बनाइरहेका बेला नेपाली रजतपट पनि केही प्रभावित भयो । तर यदाकदा आयोजना भएका केही कार्यक्रम समारोह र अन्य जमघटले नेपाली फिल्म इन्डस्ट्रीलाई चलायमान बनाएको छ । यो हप्ता हलमा कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् भने दर्शक हल सम्म पुग्न आँट गरिरहेका छैनन् । यसै बिच चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
अघिल्ला वर्षका होली भन्दा यो वर्षको होली केही भिन्न बनेको छ । सार्वजनिक स्थलमा कमै मात्र मानिस होली खेल्न निस्किएका छन् । नेपाली फिल्म इन्डस्ट्रीको होली पनि यस वर्ष केही खल्लो भइरहेको छ । कोरोना भाइरसको प्रभावले सबैले भिडभाडमा गएर होली नमनाउने निर्णय गरेकाले पनि होलीको रौनक कम भएको हो । तर पनि सबैले आ-आफ्नो तरिकाले होली मनाइरहेका छन् । यसै बिच अभिनेत्री पूजा शर्मा र वर्षा सिवाकोटीले तथा नायक दिलीप रायमाझीले एकसाथ होली मनाएका छन् ।
सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को गीत सार्वजनिक भएको छ । वैशाखको १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्रको ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा मिस्टर आरजे, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ भने मिस्टर आरजे कै सङ्गीत रहेको छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, मिस्टर राजे, कविता नेपाली लगायत फिचर्ड छन् ।
अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र 'ए मेरो हजुर ४' यति बेला छायाङ्कनमा छ । पोखरा आसपासका विभिन्न स्थानमा चलचित्रको टिमले छायाङ्कन गरिरहेको छ । चलचित्र युनिटले सुटिङ स्थलमा नै होली मनाएका छन् । रङहरूको पर्व होलीमा चलचित्रका मुख्य कलाकार लगायत टिमले खुसीका साथ रङ साटासाट गरेर होली मनाएका हुन् ।
गायक सपन राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटोको काँडा’ बोलको गीत मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । गीतमा तारा प्रकाश लिम्बुको शब्द तथा सङ्गीत र सहाश शाक्यको एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियोमा सञ्चार कर्मी नरेश भट्टराई र नायिका रेविका गुरुङ फिचर्ड छन् ।
बिहीबार नायिका आँचल शर्माले उदिप श्रेष्ठसँग लगन गाँठो कसेकी छिन् । बुढानीलकण्ठ स्थित पार्क भिलेजमा परिवार आफन्त तथा निकटका कलाकारको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको हो । आँचल र उदिपले करिब डेढ वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । विवाहमा आँचल निकै खुसी र उत्साहित थिइन् ।
एक समय नेपाली फिल्म इन्डस्ट्रीमा राज गरेका नायकहरू हुन् राजेश हमाल र निखिल उप्रेती । लामो समयपछि यी दुई नायकलाई एकसाथ पर्दामा देखिने भएको छ । निखिल उप्रेतीले निर्माण गर्ने चलचित्र अहिले ‘आयो भैरव’को लागी कुरा अगाडी बढेको हो । यो चलचित्र ‘भैरव’ को सिक्वेल हो । यसको लागी निखिल र राजेशबिच पहिलो चरणको कुराकानी सम्पन्न भैसकेको छ भने आफ्नो क्यारेक्टरको लागी राजेश सकारात्मक भएको बुझिएको छ ।
गत २ हप्ता देखी नेपाली हलहरूमा कुनै पनि नयाँ चलचित्र प्रदर्शनमा आएका थिएनन् । तर फागुन ९ गतेबाट प्रदर्शनमा आएको 'सेन्टी भाइरस' र 'आमा' भने प्रदर्शन भइरहेका थिए । आक्रामक ओपनिङ गरेको 'सेन्टी भाइरस'ले बिस्तारै दर्शकको उपस्थिति कम पायो भने राम्रो वर्ड अफ माउथ पाएको 'आमा'को व्यापार बढ्दै गयो । यसै अनुरूप दर्शकको उपस्थिति नभए पछि मल्टीप्लेक्सहरुबाट धुर्मुस सुन्तलीको 'सेन्टी भाइरस' आजबाट उत्रिएको छ । भने 'आमा'ले अझै पनि राम्रो शोज पाएको छ । दर्शकको राम्रो साथ पाउन थालेपछि सुरक्षा पन्त र मिथिला शर्माको 'आमा' मारमा परेको छ ।
चलचित्र ‘२ नम्बरी’को छायाङ्कन सुरु भएको छ । दिपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रको बिहीबारदेखि पोखरामा छायाङ्कन सुरु गरिएको हो । चलचित्रको ३५ दिनको सेड्युल तयार गरिएको छ । चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो सट दिएका छन् । सम्पूर्ण छायाङ्कन पोखरामा नै हुने निर्माण पक्षले बताएको छ ।
कार्यक्रम प्रस्तोता रवि लामिछानेले केही समय अघि रियालिटी शो ‘द लिडर’को घोषणा गरेका थिए । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी, प्रदीप नेपाल रहेको जानकारी दिइएकी थियो । उनीहरूसँगै कार्यक्रमको निर्णायकको रूपमा पूर्व मिस नेपाल शृङ्खला खतिवडा पनि रहने भएकी छिन् ।
विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करण घोषणा भएको छ । बिबिसी स्टुडियोको फर्म्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी शोको आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै शोको घोषणा गरिएको हो । ‘डान्सिङ वीथ स्टार नेपाल’को नाम दिइएको यस सो हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने छ । आयोजित कार्यक्रममा वैशाखको पहिलो साताबाट प्रसारण सुरु गर्ने बताइएको छ ।
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले केही दिन अघि विवाह गरेका हुन् । विवाह भन्दा अघि पनि विभिन्न कुराले चर्चामा आइरहेको यो जोडी विवाह पछि अझ धेरै चर्चामा आइरहेको छ । यसै बिच यो जोडी फेरी चर्चामा आएको छ । चर्चामा आउनुको कारण हो दुवैले आफ्नो नाम पछाडि राखेको थर । दुवैले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रियंकाले आयुष्मानको थर थपेकी छिन् जस अनुरूप उनले इन्स्टामा आफ्नो नाम प्रियंका कार्की डीएस जोशी लेखेकी छिन् ।
कोरोना भाइरसको त्रास बढेसँगै प्रदर्शनको तयारीमा रहेका चलचित्रले एक पछि अर्को गर्दै प्रदर्शन स्थगित गरिरहेका छन् । नेपालमा मात्र नभएर हलिउड र बलिउडमा समेत यसको असर परेको छ । आगामी शुक्रवारको लागी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले केही दिन अघि अर्को सूचना नआए सम्मको लागी प्रदर्शन स्थगित गरिसकेको छ । यसै गरी चैत्र ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पछि धकेलिएको छ । निर्माण पक्षले कोरोनाको त्रासकै कारण चलचित्र पछि सार्नुपरेको बताएको छ ।