बलिउडका चर्चित अभिनेता सलमान खान अभिनय मात्र गर्दैनन् गीत पनि गाउँछन् । कोरोना भाइरसको सङ्क्रमण कम गर्न भारतमा यति बेला लक डाउन जारी गरिएको छ । करिब १ महिना लामो लकडाउनले भारतमा जनजीवन निकै प्रभावित भइरहेका बेला सल मानले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन् । गरिब तथा कम आय श्रोत भएका मजदुर लगायतलाई सहयोग गरिरहेका उनले कोरोना सम्बन्धी जनचेतना जगाउने गीत सार्वजनिक गरेका छन् । 'प्यार करोना' बोलको गीत सोमवार उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा अभिनेता सलमानकै स्वर र शब्द रहेको छ । भने सार्वजनिक भिडियोमा पनि उनलाई नै देख्न सकिन्छ । गीतमार्फत उनले आम मानिसहरूलाई कोरोनाबाट बच्ने सल्लाह दिनुका साथै लकडाउनको सबैले पालना गर्नुपर्ने बताएका छन् । उनले यो नै सबै भन्दा महत्त्वपूर्ण काम भएको भाव व्यक्त गरेका छन् । गीतको भिडियोलाई अभिराज मिनावालाले निर्देशन गरेका हुन् । लकडाउनलाई पालना गर्दै सलमान आफ्नो परिवारसँग घरमै बसिरहेका छन् ।