कोरोना महामारीबाट संसारका अधिकांश देश लकडाउनमा छन् । यसको असर बलिउडमा पनि परेको छ । लकडाउनले फुर्सदमा रहेका कलाकारहरू घरबाटै सचेतना फैलाउन सक्रिय छन् । घरमा बसेका बेला केही कलाकार तथा मेकर्सले आफ्नो आगामी प्रोजेक्टको बारेमा पनि दर्शकलाई जानकारी दिइरहेका छन् । यसै बिच बलिउड नायक शाहरुख खानले एक भिडियो सन्देश जारी गरेका थिए । जसमा उनले लकउडाउनका नियम पालना गर्ने तरिका बताएका थिए । भने लकडाउनको उल्लङ्घन गर्नेको आलोचना पनि गरेका थिए । कोरोना भाइरसको त्रास फैलनु अगाडि नायक शाहरुख खानले नयाँ चलचित्र घोषणा गर्न लागेको चर्चा बलिउड बजारमा खुबै चलेको थियो । खानले चलचित्रमा काम नगरेको एक वर्ष भन्दा बढी भैसकेको छ । उनलाई दर्शकले नयाँ चलचित्र कहिले घोषणा गर्ने भनेर सोधिरहेका छन् । सामाजिक सञ्जाल ट्विटरमा शाहरुख खानले दर्शकको प्रश्नको जवाफ दिएका छन् ।

जवाफ दिने क्रममा उनले राजकुमार हिरानीसँग काम गर्न लागेको सङ्केत दिएका छन् ।  उनी सामाजिक सञ्जालबाट आफ्ना फ्यानसँग सवाल जवाफ गरिरहेका छन्। ट्वीटरमा अहिले #AskSRK अर्थात 'शाहरुखलाई प्रश्न' ह्यासट्याग ट्रेण्डिङमा छ । यसअन्तर्गत शाहरुखले आफ्नो तरिकाले फ्यानलाई रोचक जवाफ दिएका छन्। तपाई लकडाउनमा आफ्नो समय कसरी विताइरहनुभएको छ? एक फ्यानको यो प्रश्नमा शाहरुखको जवाफ छ, 'जनसंख्या बृद्धि गर्न आफ्नो योगदानको बावजुद, तीन सन्तानको साथ हुनु एक सुखद उपचार हो। अलग-अलग उमेरका उनीहरुसँग केही/केही घण्टा गरेर दिन बितिरहेको छ । बाँकी दिन उनीहरुको खेलौना सफा गर्दैमा वित्छ!' शाहरुका दुई छोरा र एक छोरी छन् ।