पहिलो पल्ट भिलिनेको अवतारमा देखिन लागेका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’ यति बेला प्रदर्शनको अन्तिम तयारीका रहेको छ । चलचित्र प्रदर्शन हुन पाँच दिन मात्र बाँकी हुँदा चलचित्रको टिम प्रदर्शनमा लागी परेका छन् । प्रदर्शनलाई तीव्र बनाउने क्रममा शनिवार अभिनेता उप्रेती सहित चलचित्रको टिम दर्शकसँग साक्षात गर्न काठमाडौँ, भक्त्तपूर, ललितपुरको साथै बनेपाको हल–हलमा पुगेका छन् । चलचित्र ‘रुद्र’को बारेमा जानकारी दिँदै निर्माण टिमले दर्शकलाई चलचित्र हेर्न हल सम्म आउन आग्रह गरेको थियो ।
निखिल हलमा पुग्दा उनलाई दर्शकले घेरेका थिए । नजिकबाट दर्शकसँग साक्षात हुँदा दर्शकले दिएको प्रतिक्रिया र रुद्रको बारेमा लिएको चासोले उत्साहित बनाएको निखिलले बताए । रामजी लामिछानेको निर्देशनमा बनेको रुद्रलाई अभिनेता निखिल उप्रेतीले निर्माण गरेका हुन् । निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा निखिलको साथै नव नायिका सारा र नायक विश्व शर्माको अभिनय रहेको छ । एक्सन लभ स्टोरी जनरामा बनेको चलचित्र यही शुक्रवारबाट प्रदर्शन हुदैँ छ ।