नायक राजेश हमालका भाइ राकेश हमालको बुधवार निधन भएको थियो । उपचारका लागी दिल्ली लागिएका उनको उपचारकै क्रममा निधन भएको थियो । हमालको पार्थिव शरीर दिल्लीबाट नेपाल ल्याइएर अन्तिम संस्कार गरिएको छ । शुक्रवार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए ।
भाइको शव बुझ्न अभिनेता राजेश हमाल आफै आफन्तको साथमा त्रिभुवन विमानस्थलमा पुगेका थिए । शुक्रवार पशुपति आर्यघाटमा भाइलाई अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा अभिनेता हमाल आफूलाई सम्हाल्न सक्दो कोसिस गरिरहेका देखिन्थे । पर्दामा कैयौँ पटक आँसु झारेका र शोकाकुल देखिएका हमाल वास्तवमा शोकमा भाव विह्वल भएको हेर्दा सायद कसैले मन थाम्न सके होलान् ।
उनी भाइको पार्थिव शरीर हेर्दै धेरै पटक भक्कानिएका थिए । भाइ राकेश अभिनेता हमाल का निकै ठुलो सारथि थिए । उनीहरू एउटै घरमा सपरिवार रहँदै आएका थिए । राकेश नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद् मार्फत सञ्चालित राष्ट्रिय अपाङ्ग कोषका पूर्व सभापति हुन् ।
तस्बिर: विवेक बस्याल