पछिल्लो समय चर्चित बन्दै गइरहेको रियालिटी सो हो नेपाल आइडल । विवादसँगै चर्चामा रहेको नेपाल आइडलले अहिले टप ८ को यात्रा थालनी गरिसकेको छ । गत शुक्रवार  भएको अन्तिम ९ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा धनगढीकी २३ बर्षिया सन्ध्या जोशी बाहिरिएकी थिइन् । बाहिरिए सँगै सिनेपाटीसँगै कुरा गर्दै सन्ध्या भन्छिन् ‘मलाई बाहिरिनु परेकोमा दुःख लागेको छैन । म जहाँ सम्म पुगे त्यो नै मेरो लागी जित हो ।’ उनी थप्छिन् ‘नेपाल आइडलले मलाई धेरै कुरा सिकाएको छ । लगाउने लुगा देखि, मेकअप गर्न, बोल्न, हिड्न । यी यादहरू मेरो जीवनभरका लागी रहने छन् । त्यसैले नेपाल आइडलका सबैलाई धन्यवाद दिन चाहन्छु ।’

 

नेपाल आइडलबाट बाहिरिए सँगै सन्ध्या नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छिन् । ‘सायद यही हप्तामा केही गर्छु होला ।’ सन्ध्या भन्छिन् । अब कसले जित्ला नेपाल आइडल? भन्ने प्रश्नमा जोशी भन्छिन् ‘ टप १८ मा पर्ने सबै नै नेपाल आइडलका विजेता हुन् । म सबैलाई भोट दिन्छु । हरेक हप्ता एक जना आउट त हुनै पर्छ । त्यसमा दुख मान्नु हुदैन् । सबै जना मेरा लागी विजेता हुनुहुन्छ । सबैलाई धेरै शुभकामना छ ।’