नेपाल र भारतको सिमाना आसपासको घटनामा आधारित रहेर ‘दि कर्मा’ नामक चलचित्र निर्माण हुने भएको छ । विश्वदिप घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्रले बुधवार थिम पोस्टर सार्वजनिक गरेको छ । नेपाल–भारतको सीमामा घटेको सत्य घटनामा आधारित रहेको चलचित्रले बदलाको कथालाई प्रस्तुत गर्ने छन् । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दीपक आनन्दको मुख्य भूमिका रहने छ ।

बलीउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय रूपमा काम गरिरहेका दीपकले ’लभ सब प्यार व्यार’, ’अञ्जान’, ’ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दीपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् । चलचित्रको मुहर्त भाद्र महिनामा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा दीपकको साथमा भारतका सफल मोडल करण अहुजाको अभिनय रहको छ । नायिकाको खोजी भइरहेको चलचित्रमा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहने छ ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान चलचित्र ’दि कर्मा’को छायाङ्कन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ ।जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।