तीन दिनदेखि अविरल वर्षाको कारण तराई र पहाडका अधिकांश क्षेत्रहरू डुवानमा छन् । देशको पूर्वी भाग डुवानमा परेसँगै यति बेला हरेक व्यक्ति शोकमा छ । कोसी ब्यारेजको सम्पूर्ण ढोका खोल्नु पर्ने भन्दै सामाजिक सञ्जालमा यति बेला चर्को आलोचना भइरहेको छ । भारतले ब्यारेजको ढोका खोल्न अनुमति नदिएको भन्दै केही कलाकारले यस विषयलाई लिएर आक्रोश पोखेका छन् । त्यस्तै केही कलाकारले बाढी प्रभावितलाई सहयोग गर्नेलाई लागी परेका छन् । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले बिराटनगरको विमानस्थल डुबेको देख्दा भावुक भएको भन्दै मोरङ समाजमार्फत दिपाले ५१ हजार रुपैँया सहयोग गरेकी छिन् । यता नायिका पूजा शर्माले आफ्नो तर्फबाट सहयोग गर्ने भन्दै रकमको साथै लत्ताकपडा सहयोग गर्न लागेको बताएकी छिन् । दुखद घडीमा पनि व्यपारलाई अगाडी राखेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । पूजाले बिराटनगर लगायतका प्रभावित क्षेत्रमा जानको लागी हेलिकोप्टर लिन लागेकी थिइन् । तर हेलिकोप्टरको ्ज्याला सामान्य दिनमा भन्दा डबल भएको भन्दै गुनासाे पाेखिन् । ‘समानहरु मिलाउदै छु । केही समयमा नै हामी यहाँबाट सप्तरी जान्छौ ।’
यता अभिनेत्री करिष्मा मानन्धरले सरकारले जनतालाई व्यवास्ता गरेको भन्दै आक्रोशित भएर स्टाटस पोस्ट गरेकी छिन् । उनको स्टाटस :-
‘आदरणीय नेता ज्यु हरुले विगतमा गरेका सन्धिहरु के का आधारमा गरेका होलान् ? उहाँहरू को दुरदर्शिता देखेर लाज लागेर आयो । हाम्रो जस्तो भुसंरचना भएको मुलुकले गर्ने सन्धि यस्तो आत्मघाती किसिमको कसरी गर्न सकेको ? यो त घरमा ताल्चा लगएर साँचो फ्याँकेर घर भित्र आगो लगए जस्तै हो । अब आउने दिनमा यस्ता सन्धि जनता ले अनुमोदन गरेपछि मात्र हुनुपर्छ । जय नेपाल !’
त्यस्तै अभिनेता आर्यन सिग्देलले साहनुभुति दिँदै संयमित हुनु पर्छ भन्दै सहयोगको अपिल गरेका छन् । उनको स्टाटस :-
‘बाढीले गाँस, बास र कपास बगाएको छ । धेरैले आफन्त गुमाएका छन् । देश नै शोकमा छ । नेता र सरकारप्रति आ आफ्नै किसिमको आक्रोश छ । यति बेला आरोप र प्रत्यारोप भन्दा पनि सबैले आ आफ्नो किसिमले सहयोग गर्नु पर्छ जस्तो मलाई लाग्छ । प्राकृतिक प्रकोप रोकेर रोकिंदैन् । यसबाट त हामी संयमित मात्रै हुन सक्छौँ । शोकलाई शक्तिमा बदलौं । बाढीले घर बगायो तर हाम्रो मन बगाएको छैन । बाढी प्रभावित आमा, बुवा, बालबालिका, वृद्ध, सुत्केरी, गर्भवती, अपाङगता भएकाको हेरचाह गर्ने जिम्मेवारी हामी जस्ता युवाको काँधमा आएको छ । यही हो युवा जाग्ने समय । युवा जागौं, बाढी सहयोगमा जुटौं !’