आउदो भदौ २३ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘२ रुपैयाँ’ यति बेला प्रमोसनमा व्यस्त छ । चलचित्रको ट्रेलर र गीतहरू सार्वजनिक भइसकेका छन् । ‘कुटुमा कुटु’ बोलको गीतले छोटो समयमा नै करोड भ्यु पुराएर सेलिब्रेसन समेत गरिसकेको छ । यति बेला चलचित्रको ट्रेलरमा रहेका केही संवादहरु युवामाझ चर्चित बनिरहेका छन् । ‘यसलाई सेल्फ–पी भन्छन् मोरा’, ‘खुर्रर जाएगा, खुर्रर आएगा’, ‘थरी–थरीका दाह्री, त्यो दाह्रीवाला चैँ खै ?’ लगातयका संवादहरु चर्चित बनिरहेका छन् ।

निर्देशक निश्चल बस्नेत र आशिफ शाहको मित्रता चलचित्रमा देखाइएको छ । कमेडी तरिकामा देखाइएको उक्त मित्रतालाई पनि दर्शकले रुचाएको पाइन्छ । अझ अनौठो चलचित्रको नाम हो ‘२ रुपैयाँ’ । चलचित्रको ट्रेलर लन्च कार्यक्रममा किन ‘२ रुपैयाँ’ भनेर सोधिएको प्रश्नमा निर्देशक असीम शाहले चलचित्र हेरेपछि थाहा हुने जवाफ दिएका थिए ।

चलचित्र ‘२ रुपैयाँ’को खाका २०७० सालमा चलचित्र ‘कर्कश’ प्रदर्शन भए लगतै तयार भएको निर्माण पक्ष बताउछन् । निर्देशकको साथै हाल ‘२ रुपैयाँ’का कलाकार रहेका आशिफ शाहले चलचित्रको खाका तयार पारेका थिए । शाहले सानैमा तराई भूभागमा कम रकमको नोटको पृथक् नम्बर प्रयोग गरी कारोबार गरिने कुरा थाहा पाएका थिए । उनले सोही विषयलाई उठाएर हास्यप्रधान चलचित्रको रूप दिन आफ्नो भाइ ( २ रुपैयाँका निर्देशक) असीम शाहसँग सल्लाह गरेका थिए । दुई दाजुभाइको सल्लाह पछि चलचित्रको काम अगाडी बढेको थियो । आशिफको अनुसार ‘कर्कश’ पछिको खाली समयमा ‘२ रुपैयाँ’को कथा दिमागमा आएको बताउछन् । २ रुपैयाँमा निर्देशक निश्चल बस्नेत पनि मुख्य भूमिकामा देखिन्दै छ । आशिफले निश्चललाई चलचित्रको कथा सुनाएका थिए । निश्चलले कथा सुनेपछि आफ्नो निर्माण कम्पनी ब्ल्याक हर्ष र शाहको कम्पनी जी टु वना पिक्चर्स मिलेर ‘२ रुपैयाँ’ घोषणा गरेका थिए । निश्चल ‘२ रुपैयाँ’ जुरेलीको भूमिकामा देखिन्दै छन् । कथा सुने पछि जुरेली पात्र मन परेको निश्चल बताउछन् ।

आशिफसँग कथा लेख्न निर्देशक असीमले आफ्नो दाइलाई साथ दिएका थिए । २ रुपैयाँको जरा गाडिए देखिनै मल–जलको काममा व्यस्त भएको असीम बताउछन् । ‘२ रुपैयाँ’ मेहतन भन्दा नि भावना जोडिएको असीम भन्छन् । चलचित्रमा निश्चल, आशिफको साथमा रविन्द्र झा, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । मनोरन्जनात्मक चलचित्र बनेको निर्माण पक्षको दाबी छ । भन्छन् ‘ सिनेमा हलमा दर्शकलाई भरपुर मनोरन्जन दिएर पठाउने वाचा गर्दछौ ।’
