अभिनत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र 'ए मेरो हजुर २' यही शुक्रवारबाट रिलिज हुँदै छ । चलचित्रको प्रसारप्रचारको लागी चलचित्र युनिटले केही दिन अघिमात्र मोफसलको यात्रा सम्पन्न गरिसकेको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । यसबर्षको आस गरिएको चलचित्रमा रहेको ए मेरो हजुर २ चल्नु पर्ने ५ कारणहरुको आज हामी चर्चा गर्दछौ ।
१. चलचित्रको नाम
करिब १५ वर्ष अगाडी चलचित्र 'ए मेरो हजुर' निर्माण भएको थियो । जसलाई स्व.निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए । ए मेरो हजुरमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको मुख्य भूमिकामा थिए । त्यो बेलाको सुपरहिट चलचित्र हो ए मेरो हजुर । चलचित्रमा समावेश भएको प्राय गीतहरू अझै पनि चर्चित छन् ।' ए मेरो हजुर' नाम पनि हिट छ । दर्शकले अझै यो नामलाई बिर्सिन सकेका छैनन् । हिट नाम माथि २ थपिएर यति बेला 'ए मेरो हजुर '२ निर्माण भएको छ । अझ रोचक कुरा के छ भने चलचित्रलाई 'ए मेरो हजुर'की अभिनेत्री झरना थापाले २ निर्देशन गरेकी हुन् । ए मेरो हजुर आफैमा हिट नाम भएको कारण यति बेला ए मेरो हजुर २ को चर्चा अझ बढेको छ ।
२.साम्राज्ञीको क्रेज
चलचित्र ड्रिम्स बाट नायिका साम्राज्ञी राज्य लक्ष्मीले रजतपटमा डेव्यु गरेकी हुन् । पहिलो चलचित्रमा नायक अनमोल केसीसँग देखिएकी साम्राज्ञीको चर्चा पहिलो चलचित्रबाट नै भयो । बोल्ड एण्ड ब्युटि भएको कारण पनि उनको युवा माझ राम्रै क्रेज छ । पहिलो चलचित्र रिलिज भएको झन्डै २ वर्ष बितिसक्दा पनि साम्राज्ञीले बिचमा कुनै चलचित्रमा काम गरिनन् । ए मेरो हजुर २ उनको दोस्रो चलचित्र हो । ड्रिम्सको क्यारेक्टरको कारण रुचाएकी साम्राज्ञीलाई दोस्रो चलचित्रमा दर्शकले रुचाउने हो की होइन त्यो उनको लागी चुनैती हो । तर साम्राज्ञीको फ्यानको लागी भने ए मेरो हजुर २ प्रतिक्षित बनेको छ ।
३.कलाकार बिचको केमेष्ट्री
ए मेरो हजुर २ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा नव नायक सलिनमान बनियाँको जोडीलाई दर्शकले रुचाएकाे पाइन्छ। गीत तथा ट्रेलरमा दुईको केमेष्ट्री जमेको देख्न सकिन्छ । त्यस्तै नव नायकको रूपमा रहेका सलिनको चर्चा चलचित्र छायाङ्कन हुनु अगाडी नै सुरु भएको थियो । उनलाई राईजिङ स्टारको रूपमा पनि मान्दै आइरहेको छ । त्यस्तै अर्का पात्र हुन् सलोन बस्नेत । सलोनको आफ्नै प्रकारको क्रेज रहेको छ । प्राय कमेडी भूमिकामा देखिने सलोन युवा माझ चर्चित छन् । सार्वजनिक भएको ट्रेलरमा सलिन, साम्राज्ञी र सलोनको केमेष्ट्री जमेको देख्न सकिन्छ ।
४.अभिनेत्री झरना थापाको क्रेज
करिब दुई दशक देखि अभिनेत्री झरना थापा चलचित्र क्षेत्रमा निरन्तर सक्रिय छिन् । थुप्रै हिट चलचित्रमा काम गरिसकेकी झरनाको ए मेरो हजुर २ पहिलो निर्देशकिय चलचित्र हो । उनले अभिनेत्रीको साथै आफ्नो परिचय निर्देशकको रूपमा पनि चिनाउन लागी परेकी छिन् । १५ वर्ष अगाडी आफैले अभिनय गरेको नामलाई लिएर चलचित्र निर्माण गरेकी झरनाको आफ्नो छुटै क्रेज छ । चलचित्रमा दमदार रूपमा आफूलाई प्रस्तुत गर्ने झरनाले निर्देशकको रूपमा कस्तो काम गरेकी छिन् त्यो भने प्रतिक्षित बनिरहेको छ ।
५.ट्रेलरको साथै गीतहरुले पाएको चर्चा
चलचित्र ए मेरो हजुर २ नामले मात्र चर्चामा नभई यस भित्रको गीत सङ्गीतको साथमा ट्रेलरले पनि चर्चा पाइरहेको छ । पहिलो चाेटी रिलिज भएको गीत कसम हो..लाई दर्शकले झन्डै ७१ लाख पटक युट्युबमा हेरेका छन् ।
त्यस्तै साम्राज्ञीको सोलो नृत्य रहेको किनिदेउन साइला दाइ..बोलको गीतलाई युट्युवमा झन्डै ५५ लाख पटक हेरिएको छ । चलचित्रको गीतसँगै ट्रेलरको पनि चर्चा उत्तिकै छ । युट्युबमा चलचित्रको ट्रेलरलाई २१ लाख पटक हेरिएको छ ।