हिजो (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले ओपनिङ सुखद गरेको छ । अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र ए मेरो हजुर २ लाई देशभरबाट ९० हल मिलेको थियो भने पहिलो दिन प्राय सबै हल हाउसपुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रले पहिलो दिन देशभरबाट ७८ लाख ग्रस कलेक्शन गरेको निर्माण पक्षको दाबी रहेको छ । काठमाडौँका चलचित्र वितरक गोविन्द शाहीको अनुसार पहिलो दिन चलचित्रले ४५ लाख ५० हजारको कलेक्शन गरेको छ । त्यस्तै मोफसलका वितरण केदार पराजुलीका अनुसार काठमाडौँ बाहिर ३३ लाख २१ हजार कलेक्शन गरेको छ ।  आज शनिबार पनि सिंगल र मल्टिप्लेक्समा दर्शकको चाप बढ्दो छ । शनिबार र आइतबार सार्वजनिक विदा भएको कारण चलचित्रलाई अझ नाफा हुने देखिन्छ । सुनिलकुमार थापाको निर्माण रहेको चलचित्र ‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।