लायन्स क्लब इन्टरनेशनल अन्तर्गतका नेपालका ५२ वटा क्लबहरुको सहभागिता तथा आयोजनामा लायन्स सेन्टिनियल खुल्ला पुरातात्विक साइकल यात्रा, २०७४आज मंगलबार बिहान काठमाडौं तथा ललितपुरका ५ वटा बिश्व सम्पदाहरुलाई समेटदै सम्पन्न भएको छ । बिभिन्न झाकी तथा लाखे नाचको साथमा साईकल यात्राको उद्घाटन काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यले गर्नु भएको थियो ।

सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै लायन्स सेन्टिनियल खुल्ला पुरातात्विक साइकल यात्रा, २०७४ को आयोजना गरिएको हो । काठमाडौंको भृकुटीमण्डपदेखि शुरु भई बसन्तपुर, स्वयम्भु, शोभा भगवती, दरबार मार्ग, भाटभटेनी, कालोपुल, चावहिल, बौद्ध, गौरीघाट, पशुपतिनाथ, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुलचोक, कुपन्डोल, थापाथली, माइतीघर, सिंहदरबार हुँदै भृकुटीमण्डपसम्म करिब ३० किलोमिटरको यात्रा करिब साढे दुई घण्टामा विभिन्न स्कुल, कलेज, कर्पोरेट हाउस, व्यापारी, व्यवसायी, विभागीय कर्मचारी, लायन्स र लियो सम्मिलित ३७४ साईकलयात्रीहरुले सफलतापूर्वक पुरा गरेका थिए ।  

हाम्रो सम्पदा, हाम्रो गौरव यस र्यालीको प्रमुख नारा बोकी यस कार्यक्रमले हाम्रो पौराणिक तथा धार्मिक संस्था एवं पुरातात्विक मठ मन्दिरको जर्गेना गर्नको साथै सामाजिक एवं सांस्कृतिक जनचेतनाका लागि हामी सबैको जागरुकताका साथै राष्ट्र निर्माणको सोच र तत्परताका लागि सम्पूर्ण लायन्स क्लबको संयोजकत्वमा साइकल र्याली आयोजना गरिएको कार्यक्रम संयोजक किशोर भट्टराईले जानकारी गराउनु भयो । यस र्यालीबाट जनमानसमा जनचेतनाको अभिवृद्धि एवं सम्बन्धित निकायमा पुनः निर्माण कार्यलाई दवाव सिर्जना गर्नुनै हो। गत महा भुकम्पले प्राचीन तथा पौराणिक एवं ऐतिहासिक धरोहरहरुमा पर्न गएको क्षतिलाई पुन निर्माण प्रक्रियामा लैजान र यसको जगेर्ना गर्नका लागि लायन्स क्लब लगायत हामी सबैको नैतिक जिम्मेबारी महसुस गरी यस कार्यक्रम आयोजन गरिएको हो ।

विश्वका धेरै जसो ठुला ठुला शहरहरु र महानगरपालिकाहरुमा साईकल सिटीलाई वातावरण मैत्रीका रुपमा लिदै आएकोमा हाम्रो जस्तो विकाशोन्मुख देशमा साईकल दुर्घटना र प्रदुषणको मारमा साईकल चालकहरु बढी ग्रसित देखिन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य सरकारले साईकल चालक र साईकल सडकको लेन मापदण्ड सहितको हाम्रो महानगरहरुमा योजना बनाउन दवाब सिर्जना गर्नु पनि हो । यस कार्यक्रमलाई सफल पार्न पर्पल इन्क, कर्पोरेट म्यानेजमेन्ट शोलुसन नेपाल र ईभेन्ट संसार डट कमले सहयोग तथा ब्यवस्थापन गरेको थियो । 

 

 

 

 

 

 

 

फोटो : विमल लामा / इभेन्टसंसार