चर्चा र विवादमा आइरहने अभिनेत्री भित्र पर्छिन् रेखा थापा । विगत दुई दशक देखि सक्रिय रूपमा चलचित्र क्षेत्रमा लागिरहेकी रेखा अभिनित चलचित्र ‘रुद्रप्रिया’ यति बेला प्रदर्शनको नजिक आइसकेको छ । कात्तिक २ गते प्रदर्शन मिति तोकेको ‘रुद्रप्रिया’लाई रेखा स्वयंमले निर्माण गरेकी हुन् । तर, चलचित्रकी मुख्य अभिनेत्री आफै गुमनाम छिन् । रेखाको विगतको चलचित्र प्रमोसन तरिका हेर्ने हो भने आफू अभिनित चलचित्र भन्दा आफ्नो ब्यानरमा बनेका चलचित्रहरुको प्रमोसन जोडदारले गर्दै आइरहेकी छिन् । तर रुद्रप्रियामा भने उनको त्यो उत्साह देखिएको छैन । त्यसै चलचित्र मार्फत अभिनेता आर्यन सिग्देल र रेखा थापा करिब ८ वर्ष पछि एकसाथ देखिदै छन् । दर्शकले रुचाएको जोडी एकसाथ एउटै पर्दामा हेर्ने पाउदाँ चलचित्र अझ प्रतिक्षात्मक बनिरहेको छ । तर चलचित्र रिलिज नजिकिदा कलाकारहरू भने टाढा छन् । चलचित्र चल्नुमा प्रचारप्रसारले ठुलो भूमिका खेलेको हुन्छ । पछिल्लो समय त चलचित्र चलाउनकै लागी फिल्म मेकरले प्रमोसनको विभिन्न तरिकाहरू अपनाएका छन् । प्रमोसनमा चलचित्रका मुख्य कलाकारहरूको प्रमुख हात हुन्छ । तर ‘रुद्रप्रिया’मा भने अभिनेत्री थापा जस्तै अभिनेता आर्यन सिग्देल पनि प्रमोसनमा देखिएका छैनन् । ‘रुद्रप्रिया’ आर्यन र रेखा दुवैको लागी विशेष छ । लगातार दुई चलचित्र फ्लप दिएकी रेखाको लागी ‘रुद्रप्रिया’ आस गरिएको चलचित्र हो । यता पछिल्लो समय आर्यन अभिनित कुनै पनि चलचित्र आएका छैनन् । दुवैको विश्वास ‘रुद्रप्रिया’सँग जोडिएको छ । यता कलाकारसँगै निर्देशक सुदिप बबी भुपाल सिंह पनि चलचित्र देखि टाढा छन् । बुझिए अुनसार रेखा थापा र निर्देशक सुदिप बबी भुपाल सिंहको सम्बन्ध राम्रो छैन । निर्देशक सिंहले चलचित्रको प्रमोसन समाग्री बिरलै आफ्नो समाजिक सञ्जालमा सेयर गरेका छन् । यता आर्यनले पनि सामाजिक सञ्जालमा ‘रुद्रप्रिया’को खासै नाम लिएका छैनन् ।