एकसमयकी चर्चित बलिउड नायिका हुन् मनिषा कोइराला । नेपालमा सन् १९७० मा जन्मिएकी मनिषाले बलिउडमा ‘सौदागर’ चलचित्रबाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भएसँगै उनको बलिउडमा व्यस्तता बढेको हो । मनिषाले लगतै ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ लगायतका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रमा काम गर्दा गर्दै केही समय पछि उनलाई क्यान्सर भएको खुलासा भएको थियो । क्यान्सर जस्तो रोगलाई निको पारेर मनिषाले यही वर्ष ‘डियर माया’ नामक चलचित्रमा काम गरेकी थिइन् । कमब्याक चलचित्रको रूपमा हेरिएको डियर मायामा मनिषाको कामले प्रशंसा पाएको थियो । तर राम्रो समीक्षा पाएको ‘डियर माया’ले ब्यपार भने राम्रो गर्ने सकेन् । हाल मनिषा नेपालमा समाजसेवा र परिवारको साथमा समय बिताइरहेकी छिन् । केही दिन अघि पेरी नामक बुटिकको रिवन काट्न पुगेकी मनिषाले आफ्नो स्वास्थ हाल सामान्य रहेको जानकारी दिएकी छिन् । मिडियासँग अन्तक्रिया गर्दै नेपाली चलचित्रमा काम गर्ने मन लागेको समेत बताइन् । नेपाली चलचित्रमा अभिनय गर्ने सम्भावंना कति छ ? भनेर सोधिएको प्रश्नमा मनिषा भन्छिन् 'अवश्य पनि कुनै दिन काम गर्ने छु । राम्रो कथा र मेराे उमेर अनुसार सुहाउने भूमिका भयो भने काम गर्ने तयार छु ।' नेपाली राजनीतिबारे अनबिज्ञ रहेको बताउने मनिषालाई नेपालको नायक मध्य राजेश हमाल स्टाइलिस लाग्ने बताइन् ।