एक पटक नाम, सम्मान र सफलता पाइसकेको व्यक्ति सजिलै त्यो घेराबाट उम्किन सक्दैन । उसलाई आउने दिनमा आफूले पाएको नामलाई झन् चम्किलो बनाऊँ भन्ने चाहनाले घेरेको हुन्छ । मान्छेले जीवन भर आफ्नो अस्तित्वको लागी लडिरहन्छ तर कोही त्यस्ता व्यक्ति हुन्छन् जसलाई आफूले कमाएको नाम, मान सम्मानको खास पत्तो हुँदैन र त्यसमा अझ अगाडी बढ्नु पर्छ भन्ने पनि लाग्दैन । उनीहरू आफू कर्म गर्छन् र जस्तो प्रतिफल आए पनि स्वीकार गर्छन् । यति बेला बलिउडमा यस्तै एउटा घटना घटेका छ जसले सारा कला पारखी, कलाकार र फिल्मी दुनियाँमा चासो राख्नेको मुख खुल्ला बनाइदिएको छ । चलचित्र 'दंगल', ‘सीक्रेट सुपरस्टार’ भन्ने बित्तिकै सबैको आँखामा आउने एउटा मासुम अनुहार हो जायरा ।

आमिर खान स्टारर चलचित्र 'दंगल' बाट अभिनयमा डेब्यू गरेकी जायरा वसीमले चलचित्र दुनियाँबाट सन्न्यास घोषणा गरेकी छन् । यसै गरी 'सीक्रेट सुपरस्टार' बाट नेशनल अवार्ड, फिल्म फेयर वेस्ट एक्ट्रेस क्रिटिक्स अवार्ड हात पार्न सफल जायराको यो निर्णयले सबैलाई अचम्मित तुल्याएको छ । आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक इमोसनल पोस्ट सार्वजनिक गर्दै उनले बलिउड छाड्ने घोषणा गरेकी हुन् । उनका अनुसार आफूलाई चलचित्रले दिएको सफलताबाट निकै खुसी भएको तर आफ्नो बाटो र आफूले खोजेको पहिचान त्यता नभएको आभास भएपछि सोच विचार गरेर बलिउड त्याग्ने निर्णय गरेको जानकारी गराएकी छिन् ।