बलिउड अभिनेता शाहिद कपुर यती बेला सर्वाधिक चर्चाको पात्र बनेका छन् । उनी अभिनीत 'कबिर सिंह'ले ब्लकबस्टर चलचित्रको रूपमा आफ्नो ठाउँ बनाइसकेको छ । दोस्रो हप्ता पनि बम्पर व्यापार गरिरहेको छ भने दिन दिनै चर्चा र दर्शकको साथ बढ्ने क्रम जारी छ । बलिउड मिडियाका अनुसार, ‘कबीर सिंह’ को सफलतापछि इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढेको छ । उनलाई कयौँ ठुला प्रोजेक्टबाट अफर आइरहेका छन् । केही समय अघि चलचित्रको खडेरी जस्तै भोगेका साहिदले पनि यो सफलतासँगै आफ्नो रेट बढाएका छन् । यस अघि १० देखि १२ करोडमा काम गर्ने साहिदले हालै एक चलचित्रका लागि २१ करोड लिएको चर्चा छ । तेलुगू फिल्म 'अर्जुन रेड्डी' को हिन्दी रिमेक 'कबिर सिंह'मा साहिद मुख्य भूमिकामा छन् भने उनीसँग कियारा आडवाणीले स्क्रीन साझेदारी गरेकी छिन् । हालसम्म चलचित्रले २ सय करोड हाराहारीमा व्यापार गरिसकेको छ ।